सुचना, समाचार र मनोरन्जन

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने पक्का

काठमाडौं : 

महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ।

फिल्मको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने तय गरिएको छ। सो प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् ।

हङकङ प्रिमियरपछि नेपाल रिलिज अगावै यो फिल्मको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए। नेपालमा भने यो फिल्मको रिलिज मिति फागुन २९ गते तोकिएको छ।

फिल्ममा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन्।

फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। निर्देशक मिलन चाम्सले यो फिल्मले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार फिल्मले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ।

फिल्मको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह(निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।

Leave A Reply

Your email address will not be published.