काठमाडौँ,
सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जना पर्यटकको उद्धार गरेको छ।
अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । घुम्न पुगेका सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेस क्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्धार गरेको हो ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेस क्याम्प खाली भएको छ ।
३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिंडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । बुधवार मात्रै बेस क्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो ।
कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।
उनीहरू सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् । उद्धार गरिएका केहीमा श्वासप्रश्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठुलो समस्या भने नदेखिएको थापाले बताए ।