सुचना, समाचार र मनोरन्जन

सगरमाथा अवार्डमा अश्विनी झा चम्किए, कला सम्मानबाट सम्मानित

काठमाडौं :

 नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान भन्ने नारासहित काठमाडौंमा हालै सम्पन्न ७औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’बाट सम्मान गरिएको छ।

उहाँलाई मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि आयोजकले विशेष सम्मान प्रदान गरेको हो। संगीत तथा ग्ल्यामर क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको योगदानको खुलेर प्रशंसा गरेका थिए।

‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूको अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपिएको महसुस भएको छ,’ सम्मानित झाले भने।

अश्विनीले लामो समयदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ तथा व्यक्तित्व विकासमा काम गर्दै आएका छन्। उनले तयार पारेका मोडलहरू केवल र्‍याम्प वा फोटोसुटमा मात्र नभई म्युजिक भिडियोहरूमा पनि सफलतापूर्वक प्रस्तुत हुने गरेका छन्। उनीद्वारा प्रशिक्षित मोडलहरू क्यामेराअघि र पछाडि दुवै अवस्थामा उत्कृष्ट देखिन सक्षम हुने भएकाले निर्देशकहरूका लागि काम गर्न सहज हुने गरेको छ। कोरियोग्राफर अश्विनी यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन्।

राष्ट्रिय नाचघर, जमलमा सम्पन्न उक्त कार्यक्रममा सितारवादक विजया शर्मालाई ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ नगद रु. १७,६९६ सहित प्रदान गरिएको थियो। त्यस्तै, पत्रकार ध्रुव लम्साललाई नगद रु. ८८४८ सहित ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’, सञ्चारकर्मी शिरोमणि दवाडीलाई ‘सगरमाथा रेडियो पत्रकारिता सम्मान’, गीतकार खेमनाथ दाहाललाई ‘संगीत सम्मान’, रामराथा थापालाई ‘सगरमाथा समाजसेवा सम्मान’, कार्यक्रम व्यवस्थापक संघ नेपालका अध्यक्ष राजेन्द्र लुइँटेललाई ‘सगरमाथा सम्मान’, गीतकार लोकराज अधिकारीलाई ‘सगरमाथा संगीत सम्मान’, राजन बुढाथोकीलाई ‘सगरमाथा कला सम्मान’ र राजेन्द्र थापा मगरलाई ‘सगरमाथा सम्मान’ प्रदान गरिएको थियो।

यसका साथै कार्यक्रममा संगीत क्षेत्रमा क्रियाशील कलाकर्मीहरूलाई विभिन्न विधागत प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्ने विजेताहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.