काठमाडौं :
तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बिहिबारबाट बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो। केवुलकारको अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा भएको हो।
बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलका अनुसार उनका अनुसार १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको थियो। तर व्यवसायिक रुपमा सञ्चालनमा आएको थिएन। बिहीबारदेखि भने नियमित रुपमा सञ्चालनमा ल्याइएको हो।तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको हो। कम्पनीले करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण गर्दै आएको थियो।
यस कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको बताए। केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनको भनाइ छ । अब बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिनेछ।
कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन्। दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने छ भने यो नेपालको कान्छो केबलकार बनेको छ।यसअघि मनकामना, चन्द्रागिरि, पोखरा, बुटवल, दोलखा, नवलपरासीमा केबलकार सञ्चालनमा आइसकेको छ ।