सुचना, समाचार र मनोरन्जन

पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा र हिमपात

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ । यसको प्रभावले पर्सि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भरे राति कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्विनी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा ठूलो हिमपातको साथै कोशी, मधेश, बागमती, लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ । पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको हो ।

Leave A Reply

Your email address will not be published.