जोमसोम/
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत निर्माणधिन (बेनी-मालढुंगा) सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणधिन बेनी-जोमसोम सडक स्तरोन्नतिका लागि भन्दै उक्त सडक ६ घण्टा बन्द गरिने भएको हो ।
पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको अध्यक्षतामा पर्वत र म्याग्दीका सम्वन्धित स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि एवं सरोकारवाला निकाय सम्मिलित आइतबार पर्वतको कुश्मा बसेको संयुक्त बैठकले निर्माणधिन (बेनी-मालढुंगा) सडक स्तरोन्नतिकार्यलाई गति दिनुपर्ने भन्दै मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्मका लागि दैनिक ६ घण्टा सडक आवागमन बन्द गर्ने निर्णय भएको आयोजनाका सूचना अधिकार इन्जिनियर विष्णु चापागाईंले जानकारी दिए । सूचना अधिकारी चापागाईंका अनुसार (बेनी—जोमसोम) निर्माणधीन सडकमा सवारी साधनको चापले निर्माण कार्यमा बाधा पुगेकाले दैनिक बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।
बैठकले कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनीसम्मको निर्माणधिन सडकखण्डमा बेस प्रिपेमेन्ट मा प्राईम कोर्ड स्प्रे गर्ने र सडकको चेनेजमा पत्थरलाई फोर्ने लगायतका निर्माणकार्यमा समन्वय र सहजीकरणका उल्लेख समयसम्म सडक आवागमनमा टाईमकार्ड लागु गरिएको हो । बैठकले सडक निर्माणकार्यलाई सहयोग पुर्याउन मालढुंगा हुँदै म्याग्दी आउजाउ गर्ने सावरी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
कुश्मा नगरपालिका—१ मालढुंगादेखि जलजला गाउँपालिका ८,७,४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा २ लेनको कालापेत्र सडक स्तरोन्नतिकार्य भईरहेको छ । (मालढुगा—बेनी) सडकमा नयाँ टाईमकार्ड लगाईएकाले मुस्ताङ आउजाउ गर्ने सवारी साधनले बेनी—रत्नेचौर—बाग्लुङ हुँदै म्याग्दीको बेनी जोड्ने सडक प्रयोग गर्नुपर्नेछ ।