काठमाडौं :
फिल्म ‘एक भगवत् गीता’को नामलाई लिएर चर्किएको विवाद आइतबार सहमती हुने संकेत देखिएको छ। शुक्रबार साँझ बोर्डमा बसेको बैठकले दुवै पक्षलाई बोलाएर सहमती गराउने पक्षमा रहेको छ।
चलचित्र विकास बोर्डको साँझ बसेको बैठक निष्कर्ष विहिन बनेको र आइतबार सहमती जुट्न सक्ने बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए।
उनले भने,‘आइतबार सकरात्मक संकेत आउने देखिएको छ। दुवै पक्षबीच छलफलले आइतबार सकरात्मक संकेत दिने बुझिएको छ।’
हिन्दुवादी संगठनले फिल्मको नामलाई लिएर केहि दिन यता विरोध गरिरहेको छ। यसैको आधारमा बोर्डले सेन्सर सिफारिस गर्न मानेको थिएन।हिन्दूवादी संस्थाहरुले फिल्मको नाम र विषयवस्तुमा आपत्ति जनाउँदै निवेदन दिएपछि बोर्डले फिल्मलाई सेन्सर सिफारिस दिन डराएको थियो।
बिहिबार निर्माता सुनील कुमार थापा सेन्सर सिफारिसको पत्र कुरेर बोर्डमै बसिरहेको समाचार आएपछि बोर्डका अध्यक्ष भुवन केसी आलोचित बनेका थिए।