सुचना, समाचार र मनोरन्जन

तिहारको भाइटीकामा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ रिलिज, भोलिपल्ट ‘मैझारो’को प्रवेश

काठमाडौं :

यस वर्षको तिहारमा नेपाली फिल्महरूबीच कडा प्रतिस्पर्धा देखिन थालेको छ। तिहारको मुख्य दिन, कात्तिक ६ गते (भाइटीका) मा दुई नेपाली फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउने भएका छन्। त्यसको भोलिपल्ट, कात्तिक ७ गते तेस्रो फिल्म ‘मैझारो’ पनि प्रदर्शनमा आउने घोषणा गरिएको छ।

चलचित्र ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ दुबै फरक शैलीका फिल्म हुन्। निर्माण पक्षले दुवै फिल्मको प्रदर्शन मिति तिहारको भाइटीकालाई लक्षित गर्दै सार्वजनिक गरेका छन्। ‘सोल्टिनी’ युवापुस्तालाई लक्षित कथावस्तुमा आधारित फिल्म मानिएको छ भने ‘वरिष्ठ बलराम’ सामाजिक–राजनीतिक व्यंग्य प्रधान कथामा आधारित छ। यी फिल्महरूलाई तिहारमा पारिवारिक जमघट र चाडपर्वको वातावरणमा दर्शक तान्ने लक्ष्य राखिएको छ।

भाइटीकाको भोलिपल्ट, कात्तिक ७ गते प्रदर्शन हुने घोषणा गरिएको फिल्म ‘मैझारो’ ले तिहारमा नेपाली फिल्महरूको प्रतिस्पर्धालाई त्रिपक्षीय बनाएको छ। अभिनेता तथा निर्देशक विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र प्रेमकथामा आधारित रहेको छ।

बिहीबार सार्वजनिक गरिएको दुईवटा क्यारेक्टर पोस्टरले फिल्म त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गरेका छन्। पोस्टरमा मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुन लिम्बू पहिरनमा प्रस्तुत छन्। अर्को पोस्टरमा धीरज र मिरुनाको प्रेमिल प्रस्तुतिका साथ पृष्ठभूमिमा चिया बगान देखाइएको छ।

फिल्ममा धीरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतको अभिनय रहेको छ। अभिनेता दयाहाङ राई विशेष भूमिकामा छन्। निर्माता डिबी राई र सरिना लामा, छायांकन सौरभ लामा र सम्पादन मित्र डि गुरुङको रहेको छ।

एकै चाडमा तीन फिल्मको प्रदर्शनले नेपाली फिल्म बजारमा उत्साह र चुनौती दुवै बढाएको छ। चलचित्र हलहरूको सीमित संख्या, दर्शक वर्गको रोजाइ र चाडपर्वको वातावरणबीच कुन फिल्मले बढि दर्शक तान्ने हो भन्ने चासो बढेको छ।

Leave A Reply

Your email address will not be published.