सुचना, समाचार र मनोरन्जन

भरतपुरको प्रशासकीय भवन बनाउन बागमती सरकारले ३ करोड निकासा दिने

हेटौँडा,

बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि रकम निकासा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि लागत साझेदारीमा ८ करोड रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको थियो । सोहीअनुसार अहिले ३ करोड १ लाख रुपैयाँ निकासा दिने निर्णय भएको हो।

मन्त्री लामिछानेका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने स्वीकृति पनि प्रदान गरेको छ । बैठकले साबिकको स्थानबाट वडा नम्बर–४ मा सार्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।

लिखु गाउँपालिकाका दुई तिहाइ जनप्रतिनिधिको हस्ताक्षर सहितको प्रस्तावमा केन्द्र सार्न स्वीकृति दिएको उनले बताए । साबिकको स्थानमा जग्गा नभएकाले गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालनमा समेत बाधा पुगेकाले वडा नम्बर–४ मा जग्गा प्राप्ति समेत गरेर केन्द्र सार्न प्रस्ताव गरिएको उनले बताए ।

बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीको वैदेशिक भ्रमण समेत स्वीकृत गरेको छ । सचिव अधिकारी आगामी असार ३१ गतेदेखि साउन ५ गतेसम्म भियतनाममा हुने कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा जानेछन् ।

Leave A Reply

Your email address will not be published.