काठमाडौं :
नेपाली फिल्महरु एकअर्कामा भिडाउन माहिर देखिन्छन्। को भन्दा को कम भन्दै एक आपसमा भिड्ने गरेका छन्। तर, आगामी दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नभिड्ने भएका छन्।
बिहिबार दुवै फिल्ममा निर्माढा टिमबीच ले अलग–अलग मितिमा फिल्म प्रदर्शन गर्ने सहमति गरेका हुन्। सहमती पत्रका दुई फिल्म एक हप्ताको अन्तरमा प्रदर्शनमा आउने जनाएका छन्।अब ‘परदेशी २’ असोज २६ गते घटस्थापनाको दुई दिन अघि र ‘भष्मे डन’ कात्तिक ४ गते फूलपातीबाट प्रदर्शन गर्ने सहमति भएको हो।
‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली फिल्मका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निर्णय गर्न सफल भयौं,’ विज्ञप्तिमा भनिएको छ ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ । यो फिल्म वर्षकै प्रतिक्षित फिल्ममा रुपमा लिइएको छ । यस फिल्मलाई अभिनेता खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको छ। फिल्ममा उनीसँगै अभिनेत्री वर्षा सिवाकोटीको पनि विशेष भूमिकामा देख्न सकिने छ।
यता लोक गायक समेत रहेका नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । गायक प्रकाश सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका छन्। फिल्मको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी हुन्। गत वर्षको दसैंमा नै रिलिज गर्ने भनिएको फिल्म विभिन्न कारण देखाउदै सरेको हो।