काठमाडौँ,
विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा खण्डको निर्माणको काम प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेशनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएका २९ वटा पोल नहट्दा सडकको सर्भिस लेन र फुटपाथ निर्माण हुन नसकेको हो ।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युतका पोल हटाउन पटक पटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको बताउनुभयो । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।
त्यो ठाउँमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाए बापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसके पनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो ।
विमानस्थलले एक करोड ६३ लाख रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने उहाँको भनाइ छ । सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने०को निर्माण चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्ड विपरीतका संरचना छिटो हटाउनुपर्ने उहाँको भनाइ छ ।
सडकको ठेक्का अवधि तेस्रो पटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७ दशमलव ४७ र वित्तीय प्रगति ६२ दशमलव २० प्रतिशत पुगेको छ । कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव २८ किमीमा दोस्रो चरणको कालोपत्रे भइसकेको छ ।
कुल ३६ दशमलव ३२ किमीको सर्भिस लेनमा हालसम्म १७ दशमलव ६६ किमी कालोपत्रे भइसकेको छ ।