सुचना, समाचार र मनोरन्जन
Sarangi

‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने

काठमाडौं :

आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६ औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।

लन्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् ।

बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ की विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए । फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले बताइन् ।

विमलाले नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने बताइन् । सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गरेकी थिइन् ।

हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन् । तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ ।
लन्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा ‘मिसेस नेपाल युनिभर्स’का पूर्व प्रतिष्पर्धी सुन्दरीहरुले ‘क्याटवाक’ गरेका थिए । संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गरेकी थिइन् । यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिष्पर्धा नगरिएको र प्रक्रियागत रुपमा नै आन्तरिक छनौट गरिएको आयोजक संस्थाकी मनिषा डंगोलले बताइन् ।

Leave A Reply

Your email address will not be published.