काठमाडौं :
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली फिल्म ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए।
सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ। साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ। ‘ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ।
पोस्टर सार्वजनिकसँगै यस फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ। यो फिल्म २०८२ सालको वैशाख २६ गते रिलिज हुने जनाइएको छ। यस फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ।
नवीन चौहानले निर्देशन गरेको फिल्मलाई प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर फिल्म हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हाँसिल गरेको थियो। ‘घुमी घुमी,’ ‘देखेर तिमीलाई ( तीनपाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक फिल्महरूका निर्देशक समेत रहेका चौहानको यो नै पहिलो फिचर फिल्म हो। फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन्। फिल्मको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ।
यसअघि यस फिल्मको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ। छायाङ्कन जानुअघि लिरिकल स्टाइलमा सार्वजनिक गरिएको गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ। फिल्मका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन्। फिल्ममा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन्। गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ।
कोरियोग्राफी रोशन बि.क.र डिप गुरुङले गरेका छन्। फिल्मको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन्। फिल्मको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सहनिर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन्। कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन्।
फिल्मको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन्। सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री,विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन्। यस फिल्मको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।
मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन्। प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन्। मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू रहेका छन्।