काठमाडौं :
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (डिसी)ले १४ वटा फिल्म हललाई पत्र काट्दै सरकारलाई कर तिर्न आग्रह गरेका छन्। उनले देशभरका १४ वटा सिनेमा हलहरुलाई ‘अन्तिम पत्र’ पठाएर बक्यौता रहेको चलचित्र विकास शुल्क भुक्तानी गर्न सचेत गराएका हुन्।
उनले यो पत्र हिजो देशभरका १४ वटा हललाई पठाएका हुन्। आर्थिक ऐन २०८१ अनुसार हरेक सिनेमा हलले विदेशी चलचित्र प्रदर्शन गर्दा सरकारलाई १५ प्रतिशत चलचित्र विकास शूल्क बुझाउनुपर्नेमा ति हलहरुले बुझाएका छैनन्। प्रत्येक दर्शकले काटेको टिकट शुल्कबाट १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ भने नेपाली फिल्मका लागि भने यो कर छुट दिने गरिएको छ।
यसअघि पनि बोर्डले पटक–पटक यस्ता हलहरुलाई लिखित र मौखिक आग्रह गर्नुका साथै २०८०÷९÷१२ मा राष्ट्रिय दैनिक पत्रिकाहरुमा सूचना समेत प्रकाशित गरेको थियो ।
वर्षौंदेखि कर नतिरेका १४ हलहरुलाई बोर्डले अन्तिम मौका दिँदै पत्र काटेको हो । कर नतिर्ने सबै हलहरु काठमाडौं बाहिरका रहेका छन्।
बोर्डले पठाएको पत्रमा विद्युतीय प्रणाली (ई–टिकेटिङ सिस्टम) बाट टिकट जारी गरी केन्द्रीय चलचित्र व्यवस्थापन सर्भरसँग लिंक गरी चलत्रि प्रदर्शन गर्न तथा चलचित्र निर्माण प्रदर्शन तथा वितरण नियमावाली २०५७ को दफा १० अनुसार चलचित्र प्रदर्शन इजाजतपत्रको नविकरण गरी समयमै अद्यावधिक गर्नका लागि समेत अनुरोध गरिएको छ । चारवटा हलहरुले अन्यथा कानून बमोजिम कारवाही गरिने समेत चेतावनी रहेको छ।