सुचना, समाचार र मनोरन्जन

‘श्री बुकुरो’लाई दर्शकको साथ, भ्यालेन्टाइन डेमा ‘मायालुको मुस्कान’ सार्वजनिक

काठमाडौं :

फागुन १ गतेदेखि प्रणय दिवस र महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘श्री बुकुरो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। एकैसाथ धेरै फिल्म प्रदर्शनमा आएका कारण अपेक्षित संख्यामा शो नपाए पनि प्राप्त शोहरूमा सन्तोषजनक अकुपेन्सी देखिएको दाबी गरिएको छ।

निर्देशक सुदीप भुपाल सिंह का अनुसार विशुद्ध पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूलाई ऊर्जा थपिएको उनले बताएका छन्।

यसैबीच, भ्यालेन्टाइन डे (फागुन २) को अवसर पारेर निर्माण टिमले नयाँ गीत ‘मायालुको मुस्कान’ सार्वजनिक गरेको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य बालकलाकार टिनएज अवस्थामा प्रवेश गरेपछिको प्रेम सम्बन्धलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको जनाइएको छ। गीतमा विक्रम कार्कीको संगीत तथा एरेञ्ज, निर्देशक सिंहकै शब्द रचना र सन्देश पौडेलको स्वर रहेको छ। दर्शकलाई उपहारस्वरूप गीत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्।

पारिवारिक सम्बन्धको कथामा आधारित फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ। फिल्मका गीतमा वसन्त र रञ्जीत गजमेर ले संगीत दिएका छन्। निर्माण टिमले आगामी दिनमा पनि दर्शकको साथ निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.