काठमाडौँ :
ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि आयोजना गरिएको ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को ग्रान्ड फिनाले काठमाडौँमा सम्पन्न भएको छ।
प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी चादनी श्रेष्ठ विजेता घोषित भइन्। उनले उपाधिसँगै २५ हजार रुपैयाँ नगद, बेष्ट हेयर स्टाइलिस्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड र मल्टिमिडिया अवार्ड समेत जितिन्।
बिहीबार राति नाचघरमा सम्पन्न समारोहमा खोटाङकी हिरा राई फस्ट रनरअप भइन्। उनले भ्यूअर्स च्वाइस अवार्ड र बेष्ट आइल्यासेस टेक्निसियन अवार्डसहित १५ हजार रुपैयाँ प्राप्त गरिन्।
यस्तै, संगीता राई सेकेन्ड रनरअप घोषित भइन्। उनले बेष्ट स्क्रिन अवार्डसहित १० हजार रुपैयाँ र क्राउन जितिन्। रोज ब्युटी एकेडेमी र बिलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा अनिता गुरुङले मोस्ट डिसिप्लिन अवार्डसहित थर्ड रनरअपको उपाधि हासिल गरिन्।
स्वस्तिका अधिकारी बिष्टले बेष्ट आइ अवार्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड जितिन् भने अस्बिना सिंहले बेष्ट स्टाइलिस्ट अवार्डसहित अर्गनाइजर च्वाइस अवार्ड प्राप्त गरिन्।
अन्य विधातर्फ रेश्मा केसीले बेष्ट ड्रेस र मोस्ट इनोसेन्ट अवार्ड, मिना मोक्तानले मोस्ट ब्युटिफुल अवार्ड, सलिना थापाले बेष्ट फिगर अवार्ड, सम्झना लिम्बुले मोस्ट फोटोजेनिक अवार्ड, रेखा लामिछानेले मोस्ट बब्ली अवार्ड र राधा चौधरीले बेष्ट मेकअप अवार्ड प्राप्त गरे।
त्यसैगरी, रविना तामाङले मोस्ट ट्यालेन्ट अवार्ड, रेणुका कुमारी चौधरीले बेष्ट मेकअप अवार्ड, गौरी कार्कीले मोस्ट फ्रेन्डली अवार्ड, चन्द्रा ताम्राकारले बेष्ट स्माइल अवार्ड, अञ्जु तुलाधर श्रेष्ठले मोस्ट सिभिलिटी अवार्ड, इशारा गुरुङले बेष्ट क्याटवाक अवार्ड र सरस्वती आचार्य गौतमले बेष्ट आयुर्वेदिक थेरापिस्ट अवार्ड हासिल गरे।
ग्रान्ड फिनालेमा अग्रज गायिका देविका बन्दना, अभिनेता श्रीदेव भट्टराई, सिटिइभिटी अन्तर्गत गणेशमान प्राविधिक शिक्षालयकी प्रिन्सिपल पशुपति जोशी, फेसन डिजाइनर गोमा अधिकारी धिताल, अग्रज ब्युटिसियन सिता श्रेष्ठ र मञ्जु सापकोटा तथा सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ निर्णायक रहेका थिए। बेष्ट ड्रेसतर्फ गोमा अधिकारी र मितु अधिकारी निर्णायक थिए।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी तथा कृष्ण रसालको नृत्य संयोजन रहेको कार्यक्रमको निर्देशन सरिता भारतीले गरेकी थिइन्। उद्घाटन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बास्कोटाले प्रतियोगिताले विगत आठ वर्षदेखि ब्युटिसियनहरूको प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
कार्यक्रममा आयोजक रोज ब्युटी एकेडेमीकी अध्यक्षा सोनी कारंजितले स्वागत मन्तव्य राख्दै ब्युटिसियनहरूको प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताइन्।
बिलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष डब्बु क्षत्रीले धन्यवाद ज्ञापन गर्दै यस्तो कार्यक्रमले ब्युटिसियनहरूको व्यक्तित्व विकासमा टेवा पुर्याएको बताए। समारोहमा गायक नारायण थापा, ओम सुनार, सविना सुवेदी, रमेश पाठक र गायिका सारिका घिमिरेले प्रस्तुति दिएका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।