सुचना, समाचार र मनोरन्जन

चलचित्र भवनमा तोडफोड र आगजनी, निर्माता संघले कानुनी कारबाहीको माग

काठमाडौं :

हालै Gen-Z पुस्ताले अघि सारेको भ्रष्टाचारविरोधी आन्दोलनमा अराजक समूहको घुसपैठपछि देशभरका विभिन्न चलचित्र भवनमा तोडफोड र आगजनी भएका छन्। नेपाल चलचित्र निर्माता संघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तिमा चलचित्र भवनहरू केवल मनोरञ्जनका केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण र चलचित्र बजार विस्तार गर्ने आधारशिला भएको उल्लेख गरिएको छ। उनले यस्ता संरचनामाथि गरिएको तोडफोड र आगजनीलाई लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन भनेका छन्।

संघले अन्तरिम सरकारलाई असामाजिक र उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन, प्रभावित व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउन र सम्पूर्ण चलचित्र उद्योगको संरक्षण गर्न आग्रह गरेको छ। साथै, प्रदर्शक र व्यवसायीहरूलाई आत्मबलका साथ पुनर्निर्माणमा लाग्न पनि अपिल गरिएको छ।

Leave A Reply

Your email address will not be published.