काठमाडौं :
यही असोज २४ गते अर्थात फूलपातीमा प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बेलुका ६ बजेर ५५ मिनेटको साइतमा ट्रेलर युटुबमार्फत सार्वजनिक गरेको हो।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । फिल्मले नेपालको भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ। ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ । फिल्ममा दीपकराज गिरी जागिरे भुमिकामा रहेका छन्। उनी निमान्दार भ्रष्टाचार नगर्ने सच्चा कर्मचारीमा उभिदा अरुको टाउको दुखाई बनेको ट्रेलरमा देखाइएको छ।
राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा समावेश छन्।माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको अघिल्ला सिरिजमा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह, राजनीतिक विषयवस्तु बनाइएको थियो।
तर यस पटक अलिक फरक कथा उठाएर निर्माण टिमले जोखिम मोलेको छ। अघिल्ला सिरिजलाई मोडेर यसपटक ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा उठाउने प्रयास ट्रेलरमा देख्न सकिन्छ।यो फिल्मले आफ्ना प्रमोसनल दुई गीत ‘विहे भाको छैन’ र ‘ब्रेकअप सङ्’ले निकै चर्चामा रहेका छन्।