काठमाडौँ :
हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ पछिल्लो समय दर्शकसँगै फिल्म प्रमोशनको माध्यम बनिरहेको छ। गएको भदौ १४ गते प्रसारण सुरु भएको कमेडी दरबारको चार एपिसोड प्रसारण भइसकेको छ। चारवटै एपिसोडलाई दर्शकले रुचाएका छन्। पहिलो एपिसोडलाई अहिलेसम्म युट्युवमा मात्रै १२ लाख भन्दा बढी पटक हेरिएको छ। जसमा अतिथि कलाकारको रुपमा अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा उपस्थित थिए । पहिलो एपिसोड नै नेपालको युट्युवको ट्रेन्डिङमा पुगेको थियो।
यस्तै दोस्रो एपिसोडमा नेपाली खेलाडीहरु किरण चेम्जोङ, ललित राजवंशी र सरस्वती चौधरी उपस्थित थिए । जुन एपिसोडलाई पनि युट्युवमा अहिलेसम्म झण्डै ९ लाख पटक हेरिएको छ । यस्तै तेस्रो एपिसोडमा चलचित्रमा खुस्माका अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी उपस्थित थिए ।
यो एपिसोडलाई पनि ८ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै गएको शुक्रबार प्रसारणमा आएको चौथो एपिसोडमा चलचित्र बेहुली फ्रम मेघौलीको तर्फबाट निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का उपस्थित थिए। यस एसिसोडलाई पनि दुईदिनमै ५ लाख भन्दा बढी पटक हेरिएको छ । यसरी अहिलेसम्म प्रसारण भएका एपिसोडहरु हेर्दा दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । तीनवटा एपिसोड लगातार केहिदिनसम्म युट्युवको ट्रेन्डिङमा रहेका थिए।
कमेडी दरबारमा अभिनेत्री गौरी मल्ललाई महारानी र अभिनेता बिजय बराललाई महाराजको रुपमा प्रस्तुत गरिएको छ। यस्तै सिडी बिजय अधिकारी, नम्रता सापकोटा, पबित्रा साकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त र बिकाश अर्याल कमेडीयनको रुपमा आबद्ध छन् । उनीहरुले जोडीको रुपमा प्रस्तुती दिँदै आएका छन्।
बिशेषगरी उपस्थित पाहुनाहरुलाई लक्षित गर्दै गरिएको ब्यंग्यलाई दर्शकले निकै रुचाएको देखिन्छ। शोलाई पुर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गरिरहेकी छिन्। शोलाई बिक्की अगरवाल र श्रृद्धा प्रसाईले निर्देशन गरिरहेका छन् । शोको राईटरको रुपमा विकाश अर्याल, सुन्दर खनाल र बिक्की अगरवाल रहेका छन्। यस्तै प्रोडक्सनमा आयुष लुईटेल छन्। शोको मिडिया संयाजन र गेष्ट म्यानेजमेन्ट गोपिकृष्ण चापागाईंले गरिरहेका छन्।