सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस—कन्ट्री प्रतियोगिता हुने, चिनियाँ खेलाडी लिएर चार्टड विमान पोखरा आउने

पोखरा ।

पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । पर्यटनलाई प्रबद्र्धन गर्दै खेलकुद शहरका रुपमा पोखरालाई स्थापित गर्न मंसिर ९ गते माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता आयोजना गरिएको हो ।

चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रतियोगिताको आयोजक हुन् । युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएश्न, होटल एसोसिएशन पोखराले सहआयोजकको रुपमा सघाउनेछन् ।

सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।

पालिखेका अनुुसार सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र चिनका १०/१० समूह प्रतिस्पर्धामा उत्रनेछन् । जसमा पोखराकै ४ समूह हुनेछ । दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुनेछ ।

यो विधाको विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले २ लाख ८८ हजार रुपैयाँ , तेस्रोले २ लाख १६ हजार रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार रुपैयाँ र पाँचौले ९ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ ।

व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यो विधाको विजेता महिला पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ८ हजार रुपैयाँ पाउनेछन् । तेस्रोले ५४ हजार रुपैयाँ, चोथौं देखि सातौंसम्मले १८ हजार रुपैयाँ र दसौंसम्मका धावकले ९ हजार रुपैयाँ पाउनेछन् ।

यि दुवै विधामा लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्नेछ ।

५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र छात्रालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोंले १० हजार र पाँचौले हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

पुरस्कारमा मात्रै झन्डै २० लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिता सञ्चालनार्थ ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको संयोजक पालिखे बताउँछन् ।

प्रतियोगितामा सहभागी हुन चीनको यूनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर ११४ जना पोखरा आउनेछन् । हिमालयन एयरलायन्सको चार्टड विमानमार्फत उनीहरु मंसिर ७ गते नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् । प्रतियोगितालाई सघाउन १८ जना चिनियाँ स्वास्थ्यकर्मीसँगै १९ जना प्राविधिक आउनेछन् ।

अन्तर्राष्ट्रिय माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता गर्नलाई २२ उपसमिति गठन गरिएको छ । १४ आमा समूह र युवा क्लबले सघाउने भएका छन् ।

Leave A Reply

Your email address will not be published.