काठमाडौं :
दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात छ। आजबाट प्रदर्शनमा आएको फिल्मले राम्रो सुरुवात गरेको हो। निर्माण पक्षका अनुसार फिल्मको टिकट अनलाइन बुकिङभन्दा पनि काउन्टरबाट बढी बिक्री भइरहेको छ । बिहानी शोजमा काठमाडौंका अलवा नेपालका पुर्वी जिल्लामा राम्रो दर्शक हलमा रहेको बताइएको छ। तर निर्माण पक्षले राखेको अपेक्षाकृत भने दर्शक छैनन्।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले उपलब्ध गराएको केही शोज दिउँसोबाट फिल्मले ५० प्रतिशत अकुपेन्सी कटाएको बताइएको छ भने साँझ थप बढ्ने अनुमान गरिएको छ। मध्यान्ह ४ बजेपछि क्यूएफएक्स अन्तर्गत सिभिल, छायाँ र लबिममा गरी तीनवटा शोज ‘सोल्ड आउट’ भइसकेको निर्माण पक्षको भनाई छ।
‘नुमाफुङ’ जस्तो कालजयी फिल्मका निर्देशन गरिसकेका नवीन सुब्बा निर्देशित यस फिल्ममा दयाहाङ राई,पार्वती राई,प्रसन्न राई लगायतले अभिनय गरेका छन्। धरानस्थित फ्रेण्डस् सिनेमाजले शुक्रबारका लागि बाँडेको ६ वटा शोजमा बिहानैदेखि दर्शकको भिड लागेको छ । यता विर्तामोड, विराटनगर, इटहरी लगायतका हलमा पनि फिल्मको अकुपेन्सी राम्रो छ।
फिल्म प्रदर्शनमा आएसँगै अभिनेता दयाहाङ राईसहितको टिम काठमाडौंका विभिन्न हलमा दर्शकको प्रतिक्रिया लिन पुगेका छन्। हलमा दर्शकको भिड देखेपछि अभिनेता राईले फिल्मको कथामा दर्शक ‘कनेक्ट’ हुने गरेको बताए। उनले कथालाई दर्शकले मन पराइदिदा आनन्द महसुस भएको प्रतिक्रिया दिएका छन्।
पछिल्लो समय उस्तै अभिनय गरेको आरोप लागेपछि उनी फिल्ममा काम गरिहाल्ने आँट गरेका छैनन्। त्यसैले होला उनले पत्रकारसँगको कुराकानीमा भने,‘फिल्ममार्फत जे भन्न खोजेका थियौं, त्यो कुरा दर्शकले ‘कनेक्ट’ गर्नुभएको छ । सोच्न बाध्य बनायो भन्नुभएको छ ।’
भोजपुर जिल्लाको बसोबास गर्दै आएका राई माइलाको परिवार र उनको पेशाको संकटलाई फिल्ममार्फत निर्देशकले उतारेका छन्। सडक बनेर शहरको गाडी गाउँ आएपछिको अवस्थालाई निर्देशकले भन्न खोजेका छन्।