सुचना, समाचार र मनोरन्जन

डेँगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन : जिल्लामा थप एक जनाको डेँगुको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

 

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेँगु देखिएको थियो ।

 

शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरूले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेँगुको संक्रमणका कारण मृत्यु भएको थियो ।

 

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेँगुको संक्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण देखिएको हो । संक्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।

Leave A Reply

Your email address will not be published.