सुचना, समाचार र मनोरन्जन

चितवनमा धानको ब्याडमा खैरो रोग र गवाराको समस्या

चितवन,

विभिन्न ठाउँमा धानको ब्याडमा खैरो रोग र गवाराको समस्या देखिएको छ । ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंङ्कको कमीले लाग्ने रोग र गवाराको समस्या पाइएको हो । कृषि विकास कार्यालय चितवनको प्राविधिक समूहले अनुगमन गरेको थियो ।

कार्यालयका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार रोपाइँको तयारी भइरहेका बेला बीउको ब्याडमा जिंङ्क तत्वको कमीका कारण खैरो रोग देखिएको हो । त्यस्तै गवारोको संक्रमणसमेत पाइएको छ ।

जिंङ्कको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरो थोप्ला देखिने, विस्तारै पात पूरै खैरो वा रातो भएर सुक्ने र धानमा गाँज नलाग्ने कृषि प्राविधिक बताउँछन् । यसको निवारणका लागि धानको बीउ राख्ने बेलामा नै जिङ्क सल्फेट माटोमा हाल्नुपर्ने हुन्छ तर अब ढिलो भइसकेकाले किसानले जिंङ्कलाई पानीमा घोलेर स्प्रे गर्न सक्ने बागवानी विकास अधिकृत चौहानले बताउनुभयो ।

खैरो रोग नियन्त्रणका लागि जिंङ्क सल्फेट २० ग्राम र चुन १२ ग्रामलाई ५० लिटर पानीमा मिसाइ एक रोपनी खेतमा छर्कनुपर्ने र सात दिनको फरकमा दोहोर्‍याउन उपयुक्त हुने उहाँ बताउनुहुन्छ । रासायनिक मलको असन्तुलित प्रयोग तथा एउटै खेती लगातार लगाइरहँदा रोग र कीराको प्रकोप बढी देखिन्छ । गवारो कीरा हो, यसको लार्भाले बालीलाई नोक्सान पुर्‍याउने गर्छ । चितवनमा २७ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.