काठमाडौं :
शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज भएको छ । बुधबार निर्माण टिमले फिल्ममा समावेश ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीत जयन जे वाइवाको शब्द–रचना तथा संगीतमा तयार भएको हो भने गीतमा स्वर पनि उनकै रहेको छ। उनलाई महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् ।
गीतको भिडियोमा फिल्मका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ। आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठी भरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई उठान गर्दै तयार पारिएको फिल्मको यो गीतले भुईं मानिसको पिडालाई व्यक्त गरेको छ।
गीतका शब्दहरु निक्कै मर्मस्पर्शी छन् । मर्मस्पर्शी संगीतमा गायक वाइवा र निरौलाको स्वरले गीतलाई अझ उच्च बनाउँदै शक्तिशाली बनाएको छ । गीतले दर्शक श्रोताको मन जित्न सक्ने सहज अनुमान गर्न सकिन्छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र, दयाहाङ,स्वस्तिमाका अलवा अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्ममा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । फिल्मलाई रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत रहेको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।