काठमाडौं :
पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता सुधन पोखरेल देखिएका छन्। उनी पोस्टरमा प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। यहि फिल्मबाट अभिनेताका रुपमा डेब्यु गर्न लागेका सुधनलाई पोसटरमा राखिएको छ। उक्त पोस्टर डिजाइन रोयल भीमसेनले तयार पारेका हुन्।
आउँदो फागुनबाट छायांकनमा निस्किने भनिएको यो फिल्ममा चानस पुन मगरले निर्देशन गर्न लागेका छन्। उनले फिल्मका बारेमा जानकारी दिदै अन्य कलाकारहरूको केही समयपछि जानकारी दिने बताए। यस फिल्मका निर्माता कुमार भास्कर हुन्। कम्पनी फोनिक फ्लिकको ब्यानरमा बन्ने यो फिल्मको टिजर पनि सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ। पौराणिक कथाको मोर्डन एडप्टेसनमा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए।
चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन रहने यो फिल्ममा फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए।
राजु तामाङको एक्सन निर्देशन रहने यो फिल्ममा सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुनेछन्। मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ। एसोसियट निर्माता आशिष पुडासैनी रहने यस फिल्मका कार्यकारी निर्माता विकास भण्डारी हुन्।