सुचना, समाचार र मनोरन्जन

विश्व-प्राज्ञिक मञ्चसम्म डा. पुष्पराज आचार्यको ड्रेपरी अफ टाइम

सुरेश रानाभाट/परिचय

समय बग्ने खोला मात्र होइन, यो त स्मृतिको धागोले बुनिएको एउटा विशाल वस्त्र ड्रेपरी पनि हो । यही दार्शनिक चेतनालाई शब्दको शिल्पमा उतार्दै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको कुलमा जन्मिएका एक प्राज्ञिक स्रष्टाले सात समुद्र पारिबाट नेपाली संवेदनाको नयाँ कोसेली ल्याएका छन् । तनहुँको चुँदी रम्घाको माटोमा हुर्किएर क्यानडाको प्रतिष्ठित प्राज्ञिक थलोसम्मको यात्रा तय गरेका डा. पुष्पराज आचार्यको तेस्रो र नवीनतम कृति ड्रेपरी अफ टाइम सार्वजनिक भएसँगै नेपाली डायस्पोरिक साहित्यमा एउटा नयाँ बहस सुरु भएको छ ।

फागुन ८ गते शुक्रबार, काठमाडौंको ठमेलस्थित पर्यटकीय कोलाहलका बिच बज्र बुक्सको रुपटप गार्डेनमा एउटा सौम्य र बौद्धिक जमात उपस्थित थियो । सन्दर्भ थियो, कवि तथा साहित्यकार डा. पुष्पराज आचार्यको अङ्ग्रेजी कविता सङ्ग्रह ड्रेपरी अफ टाइमको लोकार्पण ।

बज्र पब्लिकेसन प्रा.लि. द्वारा प्रकाशित यो कृतिको विमोचन समारोह सामान्य औपचारिक कार्यक्रम मात्र थिएन, बरु यो पूर्व र पश्चिमको साहित्य चेतनाको सङ्गम जस्तै थियो । कार्यक्रमको सहजीकरण गरिरहेका डा. शिव रिजालले जब कवि पुष्पराजसँगको २५ वर्ष लामो सङ्गत, सिर्जनात्मक सहकार्य र प्राज्ञिक अनुसन्धानको किस्सा सुनाए, तब उपस्थित श्रोताहरूले एउटा सर्जकको निरन्तर साधनाको गहिराइ महसुस गरे ।

विरासत र विश्वदृष्टिको कोलाज डा. पुष्पराज आचार्य सामान्य कवि मात्र होइनन् । उनीसँग आदिकवि भानुभक्त आचार्यको रगत र प्रसिद्ध समालोचक प्रा.डा. सर्वराज आचार्यको सान्निध्यताको डबल विरासत छ । तर, पुष्पराजको खास विशेषता के हो भने, उनले पितापूर्खाको त्यो संस्कृतनिष्ठ र छन्दोबद्ध विरासतलाई बोझ ठानेनन्, बरु त्यसलाई अङ्ग्रेजी साहित्यको उच्च प्राज्ञिक अध्ययन र विश्वव्यापी दृष्टिकोणसँग जोडेर नयाँ उचाइ दिए ।

लोकार्पण समारोहमा बोल्दै कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पुष्पराजको यही बहुआयामिक व्यक्तित्वको चित्रण गरे । “पुष्पसँग पैत्रिक सम्पत्तिका रूपमा रहेको संस्कृत भाषाको गहिरो ज्ञान त छँदैछ, साथमा नेपाली र अङ्ग्रेजी भाषाको दख्खलले उनी अब्बल देखिएका छन्,” श्रेष्ठले भने, “मेरा लागि छोरा, साथी र दाइ जस्तो लाग्ने पुष्प कविताको मैदानमा उभिएको एक सफल योद्धा हुन् ।”

तीर्थ श्रेष्ठले भनेजस्तै, पूर्वीय दर्शनको जगमा उभिएर पाश्चात्य साहित्यको महल बनाउन सक्नु डा. आचार्यको खुबी हो । उनले क्यानडाको टोरन्टोमा बसेर अनुसन्धान र प्राध्यापन गरिरहँदा पनि आफ्नो जरा बिर्सेका छैनन् भन्ने प्रमाण उनले वाचन गरेका कविताहरू थिए।

छोटा तर तिख्खर: अभि सुवेदीको नजरमा वरिष्ठ समालोचक तथा प्रा.डा. अभि सुवेदीले ड्रेपरी अफ टाइम भित्रका कविताहरूको चिरफार गर्दै यसलाई जापानी हाइकू शैलीसँग तुलना गरे । सुवेदीका अनुसार, डा. आचार्यका कविताहरू छोटा छन्, तर ती असाध्यै तिख्खर छन् ।

“उनका कविताले पाठकलाई पनि सोच्ने स्पेश दिन्छन्,” दर्जनौँ कविता वाचन गर्दै डा. सुवेदीले भने, “पुष्पराजले पाठकलाई जबरजस्ती अर्थ लाद्न खोज्दैनन्, बरु पाठकलाई नै कविताको अर्थ खोज्न बाध्य तुल्याउँछन् ।” सुवेदीको यो भनाइले डा. आचार्यको लेखनमा रहेको मिनिमलिजम अर्थात् थोरै शब्दमा धेरै बोल्ने कलालाई इङ्गित गर्छ ।

ड्रेपरी: समयले बुनेको पर्दा पुस्तकको शीर्षक ड्रेपरी अफ टाइम आफैँमा प्रतीकात्मक र दार्शनिक छ । ड्रेपरीको अर्थ हो, वस्त्र वा पर्दा जस्तो ढाक्ने वस्तु । कविले यहाँ समयलाई एउटा यस्तो तानको रूपमा प्रस्तुत गरेका छन्, जहाँ भूत र वर्तमानका धागाहरू उनिएर जीवनको वस्त्र बन्छ ।

पुस्तकको आवरणमा देखिने परम्परागत नेपाली वास्तुकला, मन्दिरहरू र प्राचीन बस्तीको अमूर्त चित्रले पनि यही सङ्केत गर्छ, कवि भौतिक रूपमा क्यानडाको गगनचुम्बी महलहरूमा भए पनि उनको आत्मा भने नेपालको प्राचीन गल्ली र मन्दिरका पेटीहरूमा भड्किरहेको छ । यो कृति समयले ढाकेको इतिहास, संस्कृति र मान्छेका अनुभूतिहरूको दस्ताबेज हो ।

परदेशमा घरदेशको धड्कन समारोहको केन्द्रमा रहेका स्रष्टा डा. पुष्पराज आचार्य जब बोल्न उभिए, उनको गला र भावमा नोस्टाल्जिया प्रस्ट देखिन्थ्यो । “परदेशमा रहँदा पनि घरदेशको याद र सम्झनाले लचप्पै भिजाउँछ,” भावुक हुँदै उनले भने, “नेपाली मनको त्यही भावनालाई मैले केवल अङ्ग्रेजी भाषाको साँचोमा ढालेको हुँ ।”

डा. आचार्यले आफ्नो मन्तव्यका क्रममा सरुभक्तले परिकल्पना गरेको तत्स्थानीय कविता लेखन र संरक्षण कविता आन्दोलनको स्मरण गरे । उनले जब अनुभूतिमा काली शीर्षकको कविता पञ्चचामर छन्दमा वाचन गरे, तब हलमा तालीको गडगडाहट गुञ्जियो । अङ्ग्रेजी साहित्यका प्राध्यापकले नेपाली छन्दमा गरेको यो बेजोड प्रस्तुतिले पुष्टि गर्यो, भाषा फेरिएला, भूगोल फेरिएला तर उनको नसामा बगेको भानुभक्तीय रगत र लय चेतना फेरिएको छैन ।

उनले आफ्नो पीएचडी थेसिस लेख्दा आएका गहन दार्शनिक भावहरूलाई कसरी कविताको स्वरूप दिए भन्ने अनुभव पनि साटे । “म कवितालाई प्रेम गरिरहन्छु,” उनले भने ।

नेपाली साहित्यको विश्वव्यापीकरण छायाँकाल (२००६) र ड्रिम क्याचर (२०१२) पछि २०२६ मा आएको ड्रेपरी अफ टाइम डा. आचार्यको काव्यिक यात्राको तेस्रो र परिपक्व खुड्किलो हो । बज्र पब्लिकेसनका निर्देशक विदुर डङ्गोलले भनेझैँ, नेपाली कविमनद्वारा लिखित अङ्ग्रेजी भाषाको यो कविता सञ्चयनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

डा. पुष्पराज आचार्य केवल एउटा व्यक्ति होइनन्, उनी नेपाली साहित्यको एउटा यस्तो जीवित पुल हुन्, जसले चुँदी रम्घाको मौलिकतालाई पश्चिमा जगत्को प्राज्ञिक मञ्चसँग जोडेका छन् । ड्रेपरी अफ टाइमले पाठकलाई समयको पत्रपत्रभित्र लुकेका सत्यहरूसँग साक्षात्कार मात्र गराउँदैन, नेपाली कविताको अङ्ग्रेजी लेखनमा एउटा बलियो मानक पनि खडा गरेको छ ।

आधुनिकताको कसीमा घोटिएर अझ चम्किलो बनेको डा. आचार्यको यो सिर्जनात्मक ड्रेपरी वस्त्रले विश्व साहित्यको बजारमा नेपालीपनको सुगन्ध फैलाउने अपेक्षा गर्न सकिन्छ । कवि डा.पुष्पराज आचार्यलाई सतत् शुभकामना ।

Leave A Reply

Your email address will not be published.