सम्पादकीय /
दसैँ नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड साथै शक्ति उपसनाको पर्व पनि हो । पुस्तौंपुस्तादेखि नेपालीहरूले ठूलो चाडका रूपमा दसैँ मनाउँदै आएका छन् । यस वर्ष यो पर्व महङ्गी र डेँगुको चपेटा परेको छ । हाम्रा चाडपर्व, संस्कार र संस्कृति मनाउने मौलिक परम्परामा सास्ती र सङ्कटले धावा बोल्यो र पाठ पनि पढायो । दसैँसँगै आउने रौनक र चमकलाई फिक्का बनायो, बजारको चहलपहलमा कमी ल्यायो । यद्यपि नागरिकले जसोतसो दसैँ मनाउन वाध्य छन् ।
ऋतु परिवर्तनसँगै वर्षाद्का नदीहरू सङ्लिनु, आकाशमा वर्षा बोक्ने बादल हट्नु, घरआँगनमा सयपत्री फूल फुल्नु, दसैँ आगमनको सङ्केत हो । हिम शृङ्खलाहरू खुल्नु, गर्मी सकिएर जाडो सुरुवात हुनु, खेतीकिसानीको कामबाट थोरै भएपनि फुर्सद पाउनु, शारदीय यामका विशेषता हुन् । मौसमको माधुर्यतासँगै हर्षोल्लासको छनक दिने, खुशीयाली र रमाइलो जमघट हुने याम दसैँ पर्व नेपालीको घरआँगनमा आइसकेको छ । डेँगुको कोर्राले झट्का दिँदा, महामारी र सङ्क्रमणले ढोल बजाउँदा, बजार भाउ उकालो लाग्दा नागरिक हर्षित छैनन् ।
दसैँ बालबालिकाका लागि नयाँ नाना, चिचीपापा, चङ्गा भएर आउँछ । परदेशमा रहेका आफन्ती मनहरू घरदेश आउँछन् । सहर बजारमा बसेकाहरू आफ्नो थाँतथलो फर्किन्छन् । आवागमनको प्रणाली, मठमन्दिरको दर्शन र पूजाआजामा भीडभाड र ठेलमठेल हुन्छ । सहरबजारको चहलपहल बढ्छ । पिङमा भेटिने युवायुवतीले आफ्ना भावना साट्छन् । प्रियजनहरूसँगको जमघट र भेटघाट, मान्यजनबाट लिइने आर्शीवाद, टीकाजमरा दसैँका गुलिया गुण हुन् । डेँगुको महामारीले दसैँलाई चुनौती दिएको छ । सावधानी अप्नाउँदै दसैँ मनाउनुको विकल्प छैन् । खेलाँची कसैका लागि प्रिय हुन सक्दैन् ।
दसैँंको अग्र्यानिक विशेषतामा डेँगुले हस्तक्षेप गरेको छ । महङ्गीले सास्ती थपेको छ, मितव्ययी रूपमा शुभकामना आदनप्रदान र आर्शीवाद लिनुदिनु नै बुद्धिमता हुनेछ । दसैँ लगत्तै तिहार, नेपाल सम्वत, छठपर्व आइहाल्छन् । चाडपर्व त आउँछन् जान्छन् तर पारिवारिक विपत्ती कसैलाई आइ नलागोस् यस्तै सकारात्मक शुभकामना नै आजको आवश्यकता भएको छ । यो यथार्थ हो, महामारीले हाम्रो स्वतन्त्रतालाई छिनेको छ । पुनर्मिलन, भेटघाट, आदनप्रदानलाई बिथोलेको छ । यद्यपि सङ्कटमा सास फेर्दै, स्वास्थ्य सुरक्षाको ख्याल गर्दै, महामारीको माझमा मितव्ययी दसैँ मनाउने सन्देश र शिक्षालाई भने हामीले आत्मसात गर्नैपर्छ । असहज परिवेशमा पनि सरलता खोज्न सक्नुपर्छ । यसघडी सहरबाट घरफिर्ती हुँदा गाउँहरूमा डेँगको सङ्क्रमणसँग भिड्नु पर्नेछ । नागरिक आसुरी शक्तिको अत्याचारबाट मुक्त हुन चाहान्छन् यसका लागि नागरिक समाजले सङ्कट, सङ्क्रमण र सास्तीलाई खबरदारी गर्न आवश्यक छ ।
डेँगुको बीऊ बजारको कोशेली नभइदिए गाउँहरू सुरक्षित रहनसक्छन् । नागरिकको स्वास्थ्यमा सरकार गम्भीर नहुँदा स्वयम् सचेत रहनुको विकल्प छैन् । आफू सङ्क्रमित हुन नपरोस र अरू पनि सङ्क्रमण नहुन भन्ने भावनामा जोड दिनुपर्छ । महामारीका बेला आफ्ना जनताको उपचारमा प्रतिवद्ध रहनु पर्ने सरकारको कर्तत्वय हो । महामारी र महङगीले मानिसलाई आक्रान्त बनाइरहेको घडी वास्तवमा चाडपर्व मनाउनु सकसपूर्ण छ । डेँगु पीडित परिवारका सदस्दयलाई यसपालीको दसैँको कुनै उल्लास र उमङ्ग छैन् । महामारीले कसैलाई दया गर्दैन्, विपन्नदेखि बलशाही शासकसम्मलाई छोड्दैन, हेलचक्र्याईँ नगरौं ।
परिवार र प्रियजनबिच मनाउने दसैँ शुभकामना आदनप्रदान एवम् आर्शीवाद लिनेदिने गर्दा पनि मितव्यीय बनाउनु पर्छ । तडकभडक र रवाफिलो चाडपर्वले हाम्रो आर्थिक सामाजिक हैषियतको लेखाजोखा पनि राख्छ । ‘आयो दसैँ ढोल बजाउँदै, गयो दसैँ ऋण बोकाउँदै’ यो उक्तिले पनि चाडपर्वका बेला स्थान पाउँदै आएको छ । बढ्दो बजार भाऊ र महङ्गीको मारमा पनि दुखम्सुखम चाडपर्व मनाउने वाध्यता भुईं तहका नागरिकमा छ, जसलाई दसैँ मनाउन कै लागि दसैँ भत्ता उपलब्ध हुँदैन् र पनि दसैँ मनाइरहेका हुन्छन् । हुनेखानेहरू पनि भुईंतहका मान्छेबाट चेतना ग्रहण गर्न सिक्नुपर्छ । डेँगुको कालो समय चलिरहेको छ, जो कसैले पनि दसैँले दशा लगाइदियो भनेर दोष लगाउन नपरोस् सुरक्षित रहनुहोस्, मीतव्ययी हुनुहोस्, तडकभडकरहित दसैँ मनाउनुहोस्, आफ्ना वाल्यकालीन दसैँको याद र स्वादमा नोस्टाजिक बन्नुहोस्, बस् नेपालीहरूको महान् चाड दसैँको मङ्गलमय शुभकामना ।