सुचना, समाचार र मनोरन्जन
Sarangi

धनकुटामा गरियो एक दिने चलचित्र कार्यशाला

काठमाडौं :

नेपालको पुर्व जिल्ला धनकुटामा एक दिने चलचित्र कार्यशाला २०८१ सम्पन्न भएको छ । नेपाल चलचित्र विकास बोर्डको सहयोगमा नेपाली चलचित्रमा पर्या–पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी एक दिने m कार्यशाला गरिएको हो।

धनकुटाको महालक्ष्मी नगरपालिकाको सभा हलमा फिल्म निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायाङ्कन, अभिनय तथा चलचित्रमा पर्यटन र अन्तर्राष्ट्रिय बजार विस्तारबारे प्रशिक्षण दिइयो। उनीहरुलाई कार्यशालमा निर्देशक विश्वमणी घिमिरे र वरिष्ठ कलाकार मुकुन्द मैनालीले दिएका थिए ।

उक्त कार्यशालामा उपस्थित भएका पूर्व मन्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले धनकुटामा अहिलेसम्म यस्तो चलचित्र सम्बन्धी कुनै कार्यशाला नभएको र आज यस कार्यक्रममा उपस्थित हुन पाउँदा आँफूलाई निकै खुसी लागेको बताए।

‘हामी अहिले आफ्नो रीति रिवाज बिर्सिदैँ छौं,’उनले भने,‘ वास्तवमै यस्तो कार्यक्रम धनकुटामा हुनु भनेको गौरवको कुरा हो। यसले स्थानीय कला साहित्यमा रुचि राख्ने हाम्रा भाइ बहिनीहरूको अतिरिक्त क्षमता अभिवृद्धि लागि यो कार्यशालाले निकै महत्त्व राख्छ।’

सोही कार्यशालामा महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रवराज रायले गाउँमै राम्रा–राम्रा चलचित्र निर्माण गर्न सकिने बताए।चलचित्र क्षेत्रमा इच्छा चाहाना राख्ने जो कोहीलाई यस्तो कार्यशालाले निकै फाइदा पुग्ने बताए।

‘चलचित्र क्षेत्रमा इच्छा राख्न चाहने जो कोहीलाई यस कार्यक्रमले निकै सहयोग गर्ने छ,’उनले भने,‘यसबाट चलचित्र के हो र कसरी बन्छ ? कलाकार कसरी बन्ने ? फिल्म कसरी लेख्ने भन्ने विषयमा आजको यस कार्यशालाबाट तपाईंहरुले जान्नुहुने छ भन्ने मैले विश्वास लिएको छु ।’
नगर उपप्रमुख मञ्जु कुमारी कार्की (अधिकारी)ले पनि यस्तो कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन्।उनले भनिन्,‘आज छुट्टै कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुसी लागेको छ। अरू बेलाका कार्यक्रममा राजनीतिक, शिक्षा, स्वास्थ्य र विकास लगायतका कुराहरू हुन्थे तर आज यहाँ चलचित्रको बारेमा कुरा हुनेछ।’

उनले थपिन्,‘कसैको कलाकार बन्ने, कसैको गायिका बन्ने, कोहीको पढ्ने फरक प्रतिभा हुन्छ । आफ्नो क्षेत्रमा तपाईंहरुले यो प्रतिबद्धता देखाउनु हुनेछ भन्ने मैले विश्वास लिएकी छु । आज प्रस्तुतिमार्फत पनि तपाईंहरुले आफ्नो लुकेको क्षमता देखाउनु भएको छ ।’

कार्यशाला सहभागीहरूलाई प्रमुख अतिथि, अतिथि र कलाकार लगायतबाट प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले बाल विवाह सम्बन्धी नाटक प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन धर्मोदय माध्यमिक विद्यालयकी शिक्षिका चन्दा भट्टराईले गरेकी थिइन्। कार्यक्रम निकै राम्रो भएको कलाकार मैनालीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.