सुचना, समाचार र मनोरन्जन

पोखरामा ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ,

जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

जिल्ला प्रशासन कार्यालयसहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, जनप्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले पोखराका पाँच ग्यास डिलरको अनुगमन गरेको थियो ।

ग्यास अभाव भएको उपभोक्ताबाट गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

अनुगमन टोलीले भण्डारी ट्रेडर्समा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डर पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ ।

कास्की जिल्ला प्रशासनले ज्येष्ठ नागरिक, पूर्णरूपले अशक्त र अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई ग्यासमा प्राथमिकता दिन बिक्रेतालाई आग्रहसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.