काठमाडौ :
दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा एक मगर समुदायको युवाले बिहेको लागि गर्ने संघर्ष र त्यसपछिको कथामा घुमेको देखिन्छ। किनभने फिल्मको ट्रेलरले ‘घरज्वाइँ’बन्न राजी भएका दया र मिरुनाबीचको कथाभावले सोही कुरा बुझाउँछ। उनीहरुको प्रेम झाँगिनु र फाँटिनुले दर्शकलाई फिल्मप्रति कौतुहल्ता जगाउन सफल छ।
यस फिल्ममा कथा तथा निर्देशन अनिल बुढामगरको छ। मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारित फिल्ममा निर्माता जनक घर्ती मगर रहेका छन् निर्माता मगरका अनुसार सिनेमालाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिनेछ। करिव ५ वर्ष लामो अनुसन्धान पश्चात फिल्म निर्माण गरेकाले पनि टेक्निकल पक्षलाई उत्कृष्ट बनाउन सफल भएको निर्माता घर्ती मगरले दाबी गरेक ाछन्।
ट्रेलर कार्यक्रममा अभिनेता दयाहाङ राई,शिशिर वाङ्देल लगायतको उपस्थिति रहेको थियो। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका छन्। उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
फिल्मको छायांकनमा जाँदाको अनुभव सुनाउँदै अभिनेता दयाहाङले जादा निकै कठिन भएको र त्यहाँ पुग्दा राम्रो संस्कार पाएको बताए। सबेरै कार्यक्रममा उपस्थित भएका दयाहाङले आफुले यो फिल्ममा अलिक भिन्न भुमिका निवार्ह गरेको दाबी गरे। उनलाई सधैँ एकै किसिमको अभिनय गरेको भन्दै आलोचना हुने गरेको थियो। जुन कुरा आज पनि कार्यक्रममा उठेको थियो।
उनले यसको जवाफमा अलिक फरक भएर फिल्म हेर्नुपर्नेमा जोड दिए। यस फिल्ममा दयाका अलवा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको छ भने एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।