काठमाडौं :
चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा स्टन्ट आर्टिस्टहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु गरेको छ।
ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको सन्दर्भमा कलाकारहरूलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित बोर्डको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकार विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायत चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको छ।
भक्तपुरको निकोसेरा स्थित ह्वाइट हाउस एग्रो भिल्लामा सञ्चालन भइरहेको तालिममा प्रशिक्षक सुरेश ठकुरी तथा उहाँको समूहले प्रशिक्षण प्रदान गरिरहेका छन्। तालिम अवधिभर सहभागीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड तथा आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण दिइँदै आएको छ।
चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गरेको छ। यसैबीच बोर्डले अर्को हप्ता पर्दा अगाडिका कलाकारहरूका लागि पौडी तालिम पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ।
