कैलाली : शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो।
टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन्। १० तोला सुन जोडेकी उनी आजभोलि खासै गहना लगाउँदिनन्। ‘धेरै गहना लगाउँदा इज्जत बढेको जस्तो लाग्थ्यो’, उनले भनिन्, ‘तर आजभोलि त्यस्तो छैन।’
जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ। हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन। ‘गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ’, उनले भनिन्, ‘त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ।’
गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन्। शिक्षक रूपा साउद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन्। घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन्। अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन्।
‘गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ। त्यसले अन्यलाई समस्या पनि हुँदैन’, साउद भन्छिन्, ‘तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ।’
सुनचाँदी व्यवसायी प्रवीण साहु विगतमा जस्तो कारोबार नरहेको बताउँछन्। ‘सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ। अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ’, उनले भने, ‘सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ।’