सुचना, समाचार र मनोरन्जन

पोखरा हङकङ बजारको ठेक्का पुनः गुडलकलाई, नयाँ भाडादर लागु हुने गरी सम्झौता

सन्तोष बस्याल ,पोखरा ।

पोखरा हङकङ बजारको ठेक्का गुडलक कम्पनी प्रालीले पाएको छ । नयाँ भाडादर लागु हुने गरी कृषि सामाग्री कम्पनीसँग सम्झौता भएको आइतबार पोखरामा पत्रकार सम्मलेन गरी जानकारी गराइएको छ । यसअघि पनि गुडलकले नै कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराको परिसर पछाडिको खाली जमिनमा संचालनमा आएको ‘हङकङ बजार’ का सटरहरुको भाडा उठाउदै आएको थियो । जसअनुसार मिति २०७९ चैत २१ गते सम्झौता अवधि समाप्त भयो ।

सोहि अनुरुप हङकङ बजारलाई पुनः ठेक्कामा लगाउन गोरखा पत्रमा ३१ दिने सार्वजनिक सूचना माध्यम शिलवन्दी बोलपत्र आव्हान गरियो । जसमा गुडलक सँगै अन्य व्यवसायिक कम्पनीहरुबाट समेत बोलपत्र पेश भयो । नेपालको सरकारको खरिद ऐन, सुचनाको मर्म र प्रकृयाका आधारमा गुडलकलाई छनोट गरियो । मिति २०८० असार ३१ ग्ते कृषि समाग्री कम्पनीले गुडलकलाई सम्झौताका लागि चिठी लेख्यो । कृषि सामाग्री कम्पनीले सार्वजनिक गरेका सर्तहरु मञ्जुर गरिसकेपछि मिति २०८० साउन ११ गते साउन १२ गतेबाट नै नयाँ भाडादर लागु हुने गरी भाडामा लिने दिने सम्झौता भएको गुडलकका प्रबन्ध निर्देशक मिलन प्रसाद तिवारीले जानकारी गराए ।

उसो त पोखरा हङकङ बजारका व्यवसायीहरु अहिले आन्दोलित छन् । भाडा बढ्ने भएपछि उनीहरु आन्दोलित भएका हुन् । यसअघि सटरले ओगटेको ठाउँअनुसार मासिक दुई हजारदेखि ५ हजार रुपैयाँसम्म त्यहाँका व्यवसायीले भाडा तिर्दै आएका थिए । अहिले मासिक १२ हजार पुर्याइएको छ ।

यसमा गुडलकका तिवारी भन्छन्,‘भाडादर गुडलकले बढाएको हैन । सरकारले नै बढाएको हो । म त नियमपूर्वक नै काम गरिरहेको छु । नेपालको सरकारको नियम, कानून र परिधिभित्र रही राज्य प्रद्धत्त सुविधाका आधारमा प्रत्येक नागरिकलाई व्यवसाय गर्ने स्वतन्त्रता छ । जसलाई अनुसरण गर्दै अगाडि बढेको हुँ ।’

उनले हङकङ बजारको ब्राण्डलाई सुरक्षित गर्ने दायित्वका साथ लागिरहेको उल्लेख गरे । आज भन्दा १० वर्ष अगाडिको भाडा र अहिलेको भाडादर एउटै नहुने भनाई उनको छ । समय अनुसार भाडादरमा परिवर्तन भएको उनले बताए । हङकङ बजारका व्यवसायीहरुले आन्दोलन गरी गुडलकलाई प्रवेशमा रोक लगाउनुको तुक नभएको तर्क उनको छ । ‘राज्यको नीति, नियम र कानूनको पालना गर्दै व्यवसायका लागि आएको हुँ । फेरि भाडादर गुडलकले पनि बढाएको होइन । कृषि समाग्री कम्पनीले नै बढाएको भाडादरलाई कायम गर्ने गरी अगाडि बढ्छु भनेकै छु । यसरी व्यवसाय नै गर्न नदिई रोक लगाउनु कत्तिको जायज होला ?’, उनले भने ।

पोखरा हङकङ बजारमा दैनिक रुपमा ५ हजार देखि १० हजार रुपैयाँ सम्मको व्यापार हुने दाबी उनको छ । मासिक रुपमा नै ८ देखि १० करोड व्यापार हुन्छ । नाफा कमाउन खोज्ने तर भाडा तिर्दिन भन्नु व्यवसायिक अनुशासन भित्र नभएको उनले बताए ।

राज्यलाई कर तिरेर ठेक्का लिएर व्यवसाय गर्नु नै आफ्नो कर्म भएको भन्दै कर्म नै गर्न पाउदैनस् भन्नु उचित नभएको भनाई उनको छ । ‘पेशा नै यही भएपछि नगर भन्न मिल्छ र ?’, उनले प्रश्न गरे ।

उनले पोखरा हङकङ बजारका व्यवसायीहरुले तिरेको भाडा अनुसारको सुविधा पाउने बताए ।

Leave A Reply

Your email address will not be published.