पोखरा :
पोखरा आएर गोर्खा वारियर्स टीमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए ।
फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैमा लाउरेहरुको शहर भएको उल्लेख गरे । “पोखरामा आफैमा लाउरेहरुको शहर हो । यहाँ धेरै ब्रीटीस आर्मीमा काम गरेका वीर गोर्खालीहरु हुनुहुन्छ । गोर्खालीसँग पोखरा अनविज्ञ छैन ।”, उनले भने । नेपालीलाई चिनाउने तीन विषय सगरमाथा, गौतम बुद्ध र गोर्खाली भएको उनले बताए ।
करिब ३ वर्ष लगाएर सिनेमा निर्माण भएको उनको भनाई छ । “नेपाली विदेशिन चाहदैनन् तर अहिले दिनप्रतिदिन देश खाली भइरहेको छ । यो सबै कसरी भयो । यस्ता विषयहरु समेत सिनेमा मार्फत सन्देशको रुपमा पाइनेछ ”, उनले भने । हँसिया , वीरविक्रम, लिलिबिली, बबी जस्ता सिनेमा निर्माण गरिसकेका चाम्सको वारमा आधारित रहेर सिनेमा निर्माण गर्ने योजना पहिलेदेखिको नै हो ।
उसो त उनी आफै पनि रिटायर्ड ब्रीटीस आर्मी हुन् । गोरखाज नेपालीको ब्राण्ड भएकाले अन्तर्राष्ट्रिय स्थरमा यसको प्रचारप्रसार गर्ने हेतुले सिनेमा निर्माण गरिएको भनाई उनको छ । गोर्खा वारियर्समा १९४९ वरिपरिको कथा समेटिएको छ । जतिबेला गोरखालीहरुले जंगल वार गरेका थिए । नायिका रेविका गुरुङले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।
सिनेमामा वारसँगै परिवारको कथा व्यथा पनि समेटिएको उनको भनाई छ । ७० वर्ष अगाडिको कथामा आफु जोडिन पाउँदा हर्षित छिन् । सिनेमाको छायाँकन सिन्दुली, सोलुखुम्बु र काठमाडौंमा गरिएको जानकारी उनले गराइन् । नायक रितेश चाम्सले गोर्खालीहरुको २०९ वर्षको इतिहासमा सयौं कथाको एउटा कथा गोर्खा वारियर्स भएको उल्लेख गरे । सिनेमाबाट उनी आशावादी देखिन्छन् । मिडिया सल्लाहकारको भूमिकामा रहेका डब्बु क्षेत्रीले चलचित्र पत्रकार संघको विस्तारले नेपाली सिनेमाको प्रवद्र्धनमा टेवा पुगेको बताए । उनले गोर्खा वारियर्स गोरखालीलाई चिनाउने कथा भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको भनाई उनको छ । सिनेमा युनिटले पोखरामा फागुन ७ गते प्रीमियर शो गर्ने योजना बनाएको छ ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआई प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाका निर्माता सुमन राई र सुस्मिता वाइवा हुन् । सिनेमामा रितेश र रेविका सँगै विजय लामा, कविता आले, रियर राई, बिरुप घले, सारा राई लगायतको अभिनय छ । सिनेमाको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।