काठमाडौं :
व्यापारी पृष्ठभूमिका हरिबहादुर थापाले फिल्म ‘इंश्वर’मा लगानी गरेका छन्। यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘ईश्वर’ मार्फत निर्माताका रुपमा उनी ‘डेब्यू’ गर्दैछन्। फिल्ममा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा समेत अभिनय गरेका छन्।
फिल्ममा लगानी तथा कलाकार बनेका हरिबहादुर यो फिल्मको कथाले आफुलाई तानेको बताउँछन्। हालै पत्रकारसँगको कुराकानीमा उनले सामाजिक विषयवस्तुमा आधारित फिल्म भएको हुनाले यस फिल्मको कथाले आफुलाई लगानी गर्न प्रेरित गरेको बताए।
उनले भने,‘फिल्ममा काम गर्ने उनको इच्छा धेरै अघिदेखिको हो । त्यो इच्छा भने अहिले आएर ‘ईश्वर’मार्फत पुरा गरेको छु।’
उनले थपे,‘ईश्वरको कथाले मलाई तान्यो । यो सामाजिक कथामा आधारित फिल्म हो । यसमा अन्तरजातीय विवाह, देशमा भएको विसंगति विकृति, राजनीतिका कुरा देखाइएको छ । फिल्मले जातीय विभेद नगरौं भन्ने सन्देश दिएको छ।’
आर्यन केटा पात्र र मंगोलियन केटी पात्रबीचको प्रेमलाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणलाई फिल्मको पर्दामा उतार्ने प्रयास गरिएको उनी बताउँछन्।
उनी भन्छन्,‘गुरुङ समुदायमा रहेको मामा र फुपुको छोराछोरीको प्रेम फिल्ममा छ । दर्शकहरुले सामाजिक सन्देश पनि पाउनुहुनेछ।’
नेपाली फिल्मका निर्माताहरु फिल्ममा लगानी गरेपछि पलायन जस्तै बनेका छन्। पुराना निर्माताहरु फिल्ममा लगानी गर्न डराइरहेको अवस्थामा उनी भने गाह्रो अनुभव नभएको बताउँछन्।
फिल्मकर्मीको साथ पाएको हुनाले आफुलाई कुनै गाह्रो महशुस नभएको दाबी गरे। उनले भने,‘फिल्म निर्माण गर्नु सोचे जस्तो त पक्कै होईन । तर ईश्वरको हकमा भने मलाई गाह्रो भएन।’
उनी ‘ईश्वर’बाट आफ्नो लगानी उठ्नेमा हरि ढुक्क रहेको बताउँछन्।चलेका कलाकार राखेको हुनाले फिल्मको लगानी कमफम उठ्नेमा उनको भनाई छ।
‘लगानी नउठ्ला भन्ने डर छैन । किनभने फिल्म, कथा, कन्टेन्ट, कलाकार सबै राम्रा छन् । दिग्गज कलाकारको अभिनयले फिल्मको हाइप बढेको छ’, उनको दाबी छ।
राजु गिरीले निर्देशन गरेको फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङसँगै सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।
फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन्। अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ। रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ।