सुचना, समाचार र मनोरन्जन

असोज १४ गतेदेखि ‘हिमालय रोडिज’को छैटौं सिजन प्रसारण हुने

काठमाडौं :

साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को छैटौं सिजन आगामी असोज १४ गतेदेखि प्रसारण हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शोको नयाँ सिजनबारे जानकारी दिइयो ।

प्रत्येक सोमबार राति ९ बजे हिमालय टिभी एचडीबाट कार्यक्रम प्रसारण हुनेछ। ‘वेलकम टु द जंगल’को थिममा निर्माण भएको नयाँ संस्करणमा चार जना ग्याङ लिडर हुनेछन्, जसले आफ्नो टिमलाई जिताउन प्रयास गर्नेछन्। कार्यक्रमको होस्टको रुपमा रेमनदास श्रेष्ठ फर्किएका छन्। पहिलो सिजनदेखि चौथोसम्म उनी होस्टको रुपमा थिए। पहिलो सिजनदेखि नै ग्याङ लिडरको रुपमा रहेका आशिष राना लाउरे, दीया मास्के, सिजन ३ देखि निरन्तर अनुपविक्रम शाही र गत सिजनदेखि अनुबन्धित प्रियंका कार्की यसपटक पनि छन्।

यसपटक चारजना ग्याङ लिडरको टिमबाट रोचक प्रतिस्पर्धा गराइएको निर्देशक सिमोस सुनुवारले बताए । जंगलको थिममा कार्यक्रम निर्माण भएको हुँदा जर्नी राउण्डको सबैजसो एपिसोड जंगल सर्भाइभलमा आधारित रहेको र अघिल्ला सिजनभन्दा निकै रोमाञ्चक बनेको निर्देशक सुनुवारले बताए। पाँच हजार भन्दा धेरै आवेदकबाट छानिएका उत्कृष्ट प्रतिभालाई छानेर अडिसनमा सहभागी बनाइएको छ। एमटीभी इण्डियाको संरचनामा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण भएको हिमालय रोडिज सिजन ६ सम्म यात्रा गर्ने पहिलो फ्रेन्चाइज रियालिटी शो हो।

‘युवापुस्ताबीच अत्यन्तै लोकप्रिय टिभी कार्यक्रमको रुपमा रोडिजले आफूलाई स्थापित गरिसकेको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने, ‘हामीले हरेक सिजनलाई थप गुणस्तरीय र रोचक बनाउन कोसिस गरिरहेका छौं ।’

यसपटक पनि रोडिजको शीर्ष प्रायोजकमा यामाहा मोटरसाइकल छ ।

Leave A Reply

Your email address will not be published.