इलाम/
इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढे पनि यस वर्ष उत्पादन घटेको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका वडा नम्बर ५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा एक हजार पाँच सय किलो मात्र उपलब्ध गराउने सकिने बताउनुभयो ।
सुइरोबाट बनाइने तयारी चियाको लागि व्यापारीहरुले पहिला नै रकम पठाएर ‘बुकिङ’ गर्छन् । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न नसकेको सुब्बालले बताउनुभयो । कोभिड १९ महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार बिस्तारै चलायमान बन्दै गएको सुब्बाले बताउनुभयो । यस वर्ष तेस्रो देशबाट तयारी चियाको माग बढी आएको उहाँले जानकारी दिनुभयो।
इलामको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो । गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताउनुभयो ।
यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार किलो तयारी चिया भारतसहित तेस्रो देशमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिनुभयो । झापामा रहेको मेची भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षमा तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया निकासी भएको थियो ।
मौसममा आएको परिवर्तनले गएको वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।