काठमाडौँ/
नेपाल नागरिक उड्डयन प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा सुधार आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि कम भएसँगै हवाई टिकटमा भएको ‘कालोबजारी’पूर्ण स्थितिमा आंशिक रूपमा सुधार भएको पर्यटन व्यवसायी बताउँछन् । यद्यपि यसको लाभ कुर्न भने एक महिनाभन्दा धेरै समय कुर्नुपर्ने देखिएको व्यवसायीहरू बताउँछन् ।
विमानस्थल सञ्चालनको समय कम हुन सुरु भएको गत शुक्रबारदेखि हो । त्योभन्दा अघिदेखि नै हवाई भाडा बढ्न थालिसकेको थियो । काठमाडौँ दिल्लीको एकतर्फी टिकट नै ६०÷७० हजारसम्म पुगेको थियो । प्राधिकरणको हस्तक्षेपपछि नोभेम्बर महिनाका लागि दिल्ली जाने भाडा ४०÷५० हजारसम्ममा झरेको हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक विष्णु पाण्डे बताउँछन् । डिसेम्बर दोस्रो साताका लागि भने यो भाडा १९/२० हजारसम्ममा आइपुगेको उनको भनाइ छ । सामान्य अवस्थामा दिल्ली जाने भाडा १३ देखि १५ हजारसम्म पर्ने गरेको थियो ।
नेपाल एशोसिएयस फर ट्राभल एण्ड टुर्स (नाट्टा) का सचिव समेत रहेको पाण्डेका अनुसार तत्कालै टिकट चाहिने हो भने अहिले पनि महँगो नै छ । सामान्य अवस्था हुँदा पनि जति छिटो टिकट चाहियो उति महँगो पर्छ । १० घण्टा एयरपोर्ट बन्द हुन थालेपछि डिमाण्ड र सप्लाईको आधारमा पनि भाडा बढेको थियो । योबाहेक अस्वभाविक रूपमा बढेको भाडा चाहिँ नियन्त्रणमा आउने देखिएको छ ।