काठमाडौं :
फिल्मवितरणमा छोटो समयमै आफ्नो दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्मस्ले अब देशब्यापी रुपमा हिन्दी फिल्म पनि वितरण गर्ने भएको छ । यही शुक्रबार अर्थात् ७ असारमा प्रदर्शन हुन लागेको हिन्दी फिल्म ‘इश्क भिश्क रिबाउन्ड’ बाट देशब्यापी वितरण सुरु गरेको छ ।
यसअघि ‘ड्रिम गर्ल–२’ र ‘घुमर’ नेपाल भित्र्याएको यो कम्पनीले सन् २००३ मा बनेको शाहिद कपुरको डेब्यु फिल्म ‘इश्क भिस्क’ को सिक्वेल मानिएको ‘इश्क भिस्क रिबाउन्ड’ नेपाल प्रदर्शन अधिकार लिएको हो।
‘इश्क भिस्क रिबाउन्ड’ मा पश्मिना रोशन,रोहित सर्राफ,जिब्रान खान,नैला ग्रेवाललगायतका नयाँ पुस्ताका कलाकारले अभिनय गरेका छन् । निपुन धर्माधिकारीको निर्देशनमा बनेको लभस्टोरी फिल्म अहिले चर्चामा छ । कुवेर फिल्मस्का आशिष तामाङले आफूहरुले नेपालीसँगै हिन्दी फिल्म वितरणलाई पनि ब्यबस्थित रुपमा सुरु गरेको बताए। अहिलेसम्म नेपाली फिल्मको मोफसल बितरण अधिकार मात्रै लिदै आएकोमा ‘इश्क भिस्क रिबाउन्ड’ भने देशब्यापी प्रदर्शन गर्न लागेको जानकारी उनले दिए ।
‘भागवत गीता’, ‘रंगेली’ र ‘फर्की फर्की’ मोफसलका हलमा वितरण गरिसकेको कम्पनीले बिराज भट्टको ‘१२ गाउँ’,धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत ‘खुस्मा’, बिपीन कार्की र मिरुना मगर अभिनीत ‘उनको सुइटर’ लगायतका फिल्मको मोफसल प्रदर्शन अधिकार लिइसकेका छन् ।
‘अब हामी नेपाली फिल्म पनि देशब्यापी प्रदर्शन अधिकार लिने तयारीमा छौं । छिट्टै नै केही फिल्म लिदैछौ,’ आशिष भन्छन्,‘फिल्म वितरणलाई ब्याबसायिक रुपले लिएका छौं । त्यसकारण स्वदेशी,बिदेशी दुवै फिल्म बितरण गर्छाैं ।’