काठमाडौं :
हास्यकलाका र जितु नेपाललाई चिन्नेहरुले मुन्द्रे उपनामले चिन्ने गरेका छन्। उनले आफ्नै लेखन तथा निर्देशन गरेको हास्यटेलिश्रृखंलामा ‘मुन्द्रे’पात्रको भुमिकामा अभिनय गरेका थिए। नेपाल टेलिभिजनबाट प्रसारण हुने यो श्रृंखलामा उनलाई दर्शकले रुचाएका पनि थिए।
कुनै समय फिल्ममा दमन रुपाखेतीको जोडीका रुपमा समेत पफमेन्स गरेका जितुले कमेडियनबाट हिरो हुने सपना देखेका थिएनने। जब उमेर ढल्किदै गयो तव उनले हिरोका रुपमा फिल्ममा काम पाउन थाले। छक्कापञ्जाको टिमबाट बाहिरिएपछि उनले डाक्टर भोला रिजालको फिल्म ‘ह्यारी कि प्यारी’मा हिरो भएर अभिनय गर्ने मौका पाए।
फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते फूलपातीका दिनमा रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन्। उनले यसरी हिरो भइन्छ भनेर समेत नसोचेको किस्सा सुनाए।
‘म हिरो हुँला भन्ने जिन्दगीमा कहिल्यै सोचेको थिइनँ, न अरुले सोचेका थिए। म अहिले हिरो भएँ भनेर एक खालको फिल्म नगर्ने, कार्यक्रम नगर्ने भन्ने होइन’,उनले उत्साहित हुँदै भने,‘म कमेडी पेशामा छु । मलाई केन्द्रविन्दुमा राखेर सुहाउने पात्र खडा गरेर कथा लेखिएको भएर नै म फिल्ममा नायक भएर आएँ । यो मेरो लागि सौभाग्य हो । म भोलि नायकै भएर काम गर्छु भन्ने होइन । आफूलाई फिट हुने चरित्र छ भने सानोठूलो जस्तोसुकै चरित्र निभाउँछु।’
पहिलो फिल्म खेलेपछि दोस्रो फिल्म ‘ज्वाइँ साब’मा जोडिदाको क्षण रोचक रहेको जितुको भनाई छ। निर्माण टिमले पहिलो पटक अनुरोध गर्दा फिल्म खेल्न नमानेका जितु दोस्रो पटकको आग्रहमा मानेका रहेछन्।
‘यो फिल्मका लागि मलाई धेरै अघि कुरा कुरा आएको थियो । मैले स्क्रिप्ट पनि पढेको थिएँ । तर कार्यक्रमका लागि बाहिर जानु पर्ने भएकाले मैले त्यो बेला भ्याउँदिन भनेको थिएँ’, जितु भन्छन्, ‘फिल्मका लेखक शंकर धितालसँग एउटा कथामा काम गरिरहेका थियौं । उहाँले ‘ज्वाइँ साब बन्ने भयो । तपाईंलाई नै लिने कुरा छ’ भन्नुभयो । अनि मैले स्क्रिप्ट लिएर आउनु न भनेपछि स्क्रिप्ट पढें। अघिल्लो स्क्रिप्ट भन्दा दोस्रो स्क्रिप्टमा धेरै परिवर्तन भएको रहेछ । निर्माता पनि परिवर्तन हुनुभएछ ।’
जितुले फिल्मको पहिले स्क्रिप्ट पढ्दा कथाको मेसो नपाए पनि दोस्रो स्क्रिप्ट पढ्दा कथा मन परेको खुलाए । उनले फिल्ममा काम गर्दाको क्षणलाई सम्झदै भने,‘पहिला बन्ने भनेर झण्डै ७ महिना ग्याप भयो । अहिले आएर फिल्म बन्यो।’
जितुका अनुसार उनको चरित्र र कथा रमाइलो किसिमको छ । ‘जे मान्छेले चाहन्छ, उत्पात गर्छ । त्यो उसले पाउँदैन । त्यो नपाए पछि उसले त्यो काम छोड्छ । तर फेरी त्यही मै पात्रमाथि आइपुग्छ’, जितु खुल्छन्, ‘टिपिकल फिल्म छ । कथा सामान्य छ, तर आम दर्शकका लागि कथा फरक लाग्न सक्छ ।’
टिजर र गीतमा जितुलाई बेहुला भएर बेहुलीको घर भित्र्याइएको देखाइएको छ । यो कुरा आफ्ना लागि नौलो भएको जितुको भनाई छ । ‘सामान्यतया दुलही दुलाहाको घरमा भित्रिन्छिन्, तर फिल्ममा ठीक उल्टो छ । अन्य रोचक कुरा पनि फिल्ममा छन्’, जितु भन्छन् ।
केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्मको सुटिङको एक दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो दृश्यमा सेतो पहिरनमा जितु हातमा पासपोर्ट र नानी बोकेर भावुक मुद्रामा हिँडिरहेका थिए । उनका पछि नायिका निती पनि सेतो ब्लाउज र हरियो साडीमा नेपाली राष्ट्रिय झण्डा बोकेर भावुक थिइन् ।
सामाजिक सञ्जालमा यो क्लिप भाइरल हुनुलाई धेरैले फिल्म प्रमोसनको ‘फण्डा’ पनि भने । तर त्यो बुझाईलाई जितु गलत भन्छन् । ‘हामीले त्यो क्लिप सार्वजनिक गरेका होइनौं । अर्को कुरा त्यो फण्डा पनि होइन । हामीले फिल्मका लागि चाहिने दृश्य खिचेका हौं । त्यहाँ उपस्थित मानिसहरुलाई भिडियो र फोटो नखिच्न भनेका थियौं । तर मान्छे यति धेरै थिए कि कसलाई फोटो र भिडियो खिच्न रोक्न सक्ने अवस्थै थिएन’, उनी भन्छन् ।
जितुलाई फिल्मको ‘ज्वाइँ साब’ क्यारेक्टर मनपरेको रहेछ । ‘फिल्मको प्रमुख पात्र निकै चाख लाग्दो छ । फिल्ममा अनावश्यक कुराहरु छैन । सोसियल कमेडी छ, कथा सरर एउटै ट्रयाकमा बगेको छ । दर्शकलाई दिक्क लाग्ने केही छैन’, जितु दाबी गर्छन् ।
उनले दर्शकलाई ‘ज्वाइँ साब’ आफ्ना लागि भन्दा पनि समग्र मनोरञ्जनका लागि हेर्न आग्रह गरे । ‘हाम्रो फिल्म अहिले चलि आएको फिल्मभन्दा फरक खालको छ । फिल्ममा हाम्रो घर, परिवारमा हुने घटनाक्रमलाई हेर्ने र एकैछिन दुःख पीडा भुलाउन तथा रमाइलो मनोरञ्जन लिनका ‘ज्वाइँ साब’ हेर्न आग्रह गर्छु’, जितु भन्छन् ।
कलाकारलाई कुनै पनि फिल्म करियरको लागि कोशेढुंगा साबित होस् भन्ने लाग्छ । जितु पनि यो कुरालाई स्वीकार्छन् । मेरो करियरमा यो फिल्म कोशढुंगा साबित हुन्छ भन्नेमा आशावादी छु किनभने राम्रो कथावस्तुमा मलाई फिट भएको रोल छ । मैले पनि निर्देशकले भने अनुसार कथाको मर्म अनुसार नै अभिनय गरेको छु । म उत्साहित पनि छु’, उनी भन्छन् ।
वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।