काठमाडौं :
हास्यकलाकारका रुपमा आफुलाई चिनाइसकेका कलाकार जितु नेपालको एकपछि अर्को चर्चा चुलिदै गएको छ। गत असोज २४ गते प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’पछि उनको पछिल्लो फिल्म ‘कार्साङ’को क्यारेक्ट लुक्सले चर्चा पाउन थालेको छ। एनको क्यारेक्टर लुक्सलाई निर्माणपक्षले आज सार्वजनिक गरेपछि चर्चा सुरु भएको हो।
फिल्म छायांकनका बेला जितु नेपालले केहि तस्विर सार्वजनिक गरेका थिए। सिन्धुपाल्चोकमा सिनेमाको छायांकन चलिरहेका बेला उनले सेटमा अन्य कलाकारसँग फोटो खिचेर पोस्ट गरेपछि अधिकांशले अनुमान गरेका थिए कि त्यहि लुक्स जितु छन्। तर मंगलबार सार्वननिक भएको उनको क्यारेक्टर लुक्समा केहि पनि मिल्दैन। उनको फोटोसँग उनको यो सिनेमाको क्यारेक्टर लुक्स आकाश पतालको फरक छ। क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’मा क्यारेक्टरका लागि मेहनत गरेको देखिन्छ।
कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ।
पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ। त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। तर, यसबारे निर्माणपक्षले केही प्रष्ट पारेको छैन।
यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ।यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ्’ पुस २६ गते पदर्शन हुँदैछ।शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्। यो चलचित्रको अन्तराष्ट्रिय वितरक अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ।