काठमाडौं :
फिल्म ‘आईएम जीतबहादुर’को टिजरले युट्युबमा दर्शकको सकरात्मक प्रतिक्रिया पाएको छ। युटुबमा रिलिज भएको चार दिनमै टिजरले ६ लाख भन्दा बढि भ्युज बटुल्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म टिजरले ६ लाख ३७ हजार ५ सय भ्युज पाएको छ। निर्माण पक्ष यसै भ्युजका आधारमा निकै उत्साहित बनेको देखिख्छ।
फरक लुक्स र भुमिकामा देखिएका जितुलाई दर्शकले ४ सय ८६ वटा प्रतिक्रिया दिएका छन्। अधिकांशले जितुको अभिनय मन परेको प्रतिक्रिया दिएका छन्। साथै ६ हजारभन्दा बढी लाइकले गरेका छन्। यसको मतलव जितुको भुमिकालाई दर्शकले रुचाएका छन्। यस फिल्मको प्रदर्शन मिति भने निर्माण पक्षले घोषणा गरेको छैन। अभिनेता तथा निर्माता समेत रहेको जितुले यस फिल्मको प्रदर्शन मिति छिटै घोषणा गरिने जानकारी दिएका छन्।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालले पनि विशेष भूमिकामा अभिनय गरेका छन्। फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्दछ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले सह–निर्माण गरेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्म आगामी असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।