पोखरा ।
पोखरामा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माको उपस्थितिमा जीवन रुपान्तरण सम्बन्धि विभिन्न कार्यक्रम हुने भएको छ । जीवन विज्ञान गण्डकी प्रदेशको आयोजनमा भाद्र २२ र २३ गते दुई दिन सम्म हुने कार्यक्रममा स्वस्थ जीवनका लागि अध्यात्म विषयक कार्यक्रम समेत राखिएको छ ।
भाद्र २२ गते शुक्रबार सभा १२ बजे अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरको आयोजना एवम् जीवन विज्ञान गण्डकी प्रदेशको सहकार्यमा स्वस्थ जीवनका लागि अध्यात्म विषयक कार्यक्रमको आयोजना गरिएको जीवन विज्ञान प्रशिक्षक शिक्षा तथा विकास केन्द्र गण्डकी प्रदेशका संयोजक शंकर पोखरेलले जानकारी गराए । उनका अनुसार सोहि दिन दिउँसो ३ बजे नगरप्रमुख सहित सम्पूर्ण वडा प्रमुख, कार्यपालिका, महाशाखा प्रमुखका लागि जीवन रुपान्तरण विधि कार्यक्रमको आयोजना गरिएको छ ।
भाद्र २३ गते शनिबार विहान ८ बजे विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिको सहकार्यमा वृहत सत्संग कार्यक्रम गरिँदैछ । सोहि दिन बिहान ११ बजे पोखरा महानगरपालिकाको सह—आयोजनामा पोखरा सभागृहमा जीवन रुपान्तरणको कार्यक्रम हुनेछ । जसमा सम्पूर्ण पोखरेलीलाई सहभागिताका लागि आह्वाहन गरिएको छ । डेढ घण्टासम्म हुने कार्यक्रममा जीवन रुपान्तरणका सम्पूर्ण विधि सिक्ने अवसर मिल्ने उनले बताए ।
अस्तव्यस्त जीवन नभई मस्तव्यस्त जीवन बिताउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । ‘जीवनको चौतर्फी सफलताको लागि कार्यक्रम गरिएको हो । सबै कार्यक्रम निशुल्क छ । जीवन विकास विशेषज्ञ सदगुरु एल पी भानु शर्मा आउँदैहुनुहुन्छ । उहाँ जीवन विज्ञानका संस्थापक गुरु हुनुहुन्छ ।’, उनले भने ।
विश्वका ५५ देशमा अध्यात्मिक सचेतना मुलक कार्यक्रम आयोजना हुने उनले जानकारी गराए । नेपालका पनि विभिन्न ठाउँमा जीवन विज्ञान मार्फत कार्यक्रम गरिँदैआएको उनले बताए ।
शैक्षिक, वित्तिय, धार्मिक, आध्यात्मिक, जनप्रतिनिधि र कर्मचारी सबैको सहभागिता रहने विश्वास लिएको छ ।
‘जीवनका सम्भावना पहिचान सहित व्यवस्थित एवम् समृद्ध जीवनका लागि स्वस्थ जीवनशैली अपनाउन आवश्यक छ । व्यक्ति, परिवार, समाज र सिङ्गो जगतकल्याणका लागि अध्यात्म अपरिहार्य रहेको छ । समाज रुपान्तरण गर्दै जगतमा सुख, शान्ति र समृद्धि फैलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।’, उनले भने ।