काठमाडौं :
नेपाल चलचित्र कलाकार संघले वर्तमान कार्यसमितिमा रिक्त रहेका पदहरूमा नयाँ पदाधिकारीहरू मनोनित गरेको छ। गत कात्तिक २ गते बसेको संघको बैठकले संघको विधान परिच्छेद ८ को दफा २६ उपदफा (ग) र (ध) बमोजिम पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको हो।
उक्त निर्णयअनुसार संघले उपाध्यक्ष दुईजना र सदस्य दुईजना गरी चार जना पदाधिकारी मनोनित गरेको छ। कात्तिक १३ गते (विहीबार) राजधानीमा आयोजित एक विशेष समारोहका बीचमा नव–पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन्।
संघका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न सो समारोहमा जयन्त रेग्मी र राजकुमार शाह लाई उपाध्यक्षमा तथा जीवन थापा र श्रीदेव भट्टराईलाई सदस्यमा मनोनित गरिएको थियो। अध्यक्ष निरौलाले चारै पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।
त्यस अवसरमा संघका कोषाध्यक्ष सुनिल कटुवाललाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। उनी आउँदो नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा आयोजना हुने International Federation of Actors (FIA) को अन्तर्राष्ट्रिय अधिवेशनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न जाने भएका छन्।
अध्यक्ष निरौलाका अनुसार उक्त सम्मेलनमा ६० मुलुकका ४५० भन्दा बढी चलचित्रकर्मी र प्रतिनिधिहरू सहभागी हुनेछन्।
कार्यक्रममा अध्यक्ष निरौलाले संघले पछिल्लो समय सदस्यता वितरण र नवीकरणमा विधानअनुसारका मापदण्डलाई कडाइका साथ लागू गरेको तथा लेखा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाएको जानकारी दिए।
नव–नियुक्त पदाधिकारीहरूलाई चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, र संघका कानुनी सल्लाहकार कृष्ण ढुंगाना लगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल ‘बैरागी’ ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन गोपाल ढकाल ‘छन्दे’ ले गरेका थिए।