काठमाडौं :
कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ। यसले फिल्म ‘मदर’, ‘मुखिया’,‘रितु’,‘खरानी’,‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजबाट अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु समेत गरेको जनाएको छ।
कान्तिपुर सिनेमाजले रिलिज गरेको फिल्म ‘नेपाली फिक्सन’मा ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पु¥याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँड लगायतको कथालाई प्रस्तुत गरिएको छ। सोही बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा फिल्ममा प्रस्तुत गरिएको छ। यो फिल्म गत फागुन २ गते काठमाडौँस्थित विश्व ज्योति हलमा प्रिमियर गरिएको थियो। प्रिमियरमा ‘नेपाली फिक्सन’ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो।
यो फिल्म २०२२ मा बनाइएको थियो । यसका निर्देशक देवेन्द्र खत्री हुन् । उनी कान्तिपुर फिल्म एकेडेमीका फिल्म विद्यार्थी हुन् । उनले थुप्रै सर्ट फिल्महरू बनाएका छन्। उनी नेपाली सिरिज ‘ब्रह्माण्ड’, प्रदर्शनरत फिल्म ‘अगस्त्य’ र हाल छायांकनरत फिल्म ‘मेयर’का सहायक निर्देशक हुन् ।
पाँच पात्र वरपर घुम्ने ‘नेपाली फिक्सन’मा पछिल्लो समयका उम्दा उदयमान फिल्म स्कुल तथा थिएटरका कलाकारहरू सन्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय गरेका छन्। फिल्ममा आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादन छ।
यस फिल्मलाई संसारभरबाट कान्तिपुर सिनेमाजको वेभसाइट लगइन गरेर वा मोबाइलमा एप डाउनलोड गरेर पनि हेर्न सकिनेछ। हाल नेपाली फिक्सनसँगै यस ओटीटी प्लेटफर्ममा ‘ब्रह्माण्ड’, ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’, ‘जुलेबी’, ‘ज्याकी आई एम ट्वान्टी वान’, ‘चि मुसी’लगायत २४ घण्टाका एक्सक्लुसिभ फिल्म र सिरिज स्ट्रिमिङ भइरहेका छन्।