काठमाडौं :
फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ। ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ।
टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण यो चलचित्रको कथा रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ। नेपाली ग्रामीण समाज सानोसानो नियमित गर्जो टार्न कसरी छटपटिन्छन् भन्ने तथ्यलाई ‘कार्साङ’ले भन्ने टिजर हेरर अनुमान लगाउन सकिन्छ। फिल्म ‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो। फिल्मको कथा पनि निर्देशक आफैँले लेखेका छन्।
शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्म ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ। अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन्। हर्क साउद र डीपी खनालको शब्द रहेको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत, मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पाको आवाज रहेको छ। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्म पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयं हुन्।
चलचित्रको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्। लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन्। फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, शाहिल खानको टिजर र ट्रेलर, राजु तामाङको मेकअप, अभि लामाको कोरियोग्राफी,मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहयाक निर्देशन रहेको छ। यस फिल्मको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएका छन्। नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।