तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए ।
यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताए ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।
मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।
यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पु¥याए भनिन्छ । अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको चित्रकारको भनाइ छ ।
यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको अध्यक्ष चित्रकारले बताए । “कार्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, उनले भने ।
मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको हो । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको नाच प्रचारप्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायको भनाइ छ ।
“सत्ताइस दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ, तर हाल यस नाचलाई दस दिनमा खुम्च्याइएको छ । विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो”, राजोपाध्यायले भने ।
कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउँछन् । “विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष दस दिन देखाइँदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ”, उनले भने ।
लामो समय नाच देखाउन आर्थिक अभाव हुने कलाकार राजोपाध्यायको भनाइ छ । “एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ । हामीले कात्तिक नाचलाई जगेर्ना मात्रै गर्न खोजेका हौँ । यसलाई एक महिनासम्म सञ्चालन गर्न सकिने अवस्था तत्काल छैन । कतैबाट आर्थिक सहयोग भए २७ दिनसम्म पनि गर्न सकिन्छ”, उनले भने ।
कलाकारहरूले व्यावसायिक रूपले यस क्षेत्रमा समय दिन नसकेका कारण कार्तिक नाच देखाउन पनि समस्या भएको उनको भनाइ छ । “कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ, कलाकारहरू विदेश पलायन हुँदै जाने समस्याका साथै नयाँ पुस्तामा भाषागत समस्या बढ्दै गइरहेको छ भने अर्कोतर्फ सरकारी पक्षबाट समेत यसका लागि पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन”, उनी भन्छन् ।
नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा रु दस करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ । साथै कलाकारलाई पढ्नका लागि छात्रवृत्ति तथा स्वास्थ्य क्षेत्रमा बिमाको व्यवस्था गर्ने समेत रहेको समितिका अध्यक्ष किरण चित्रकारले बताए ।
अक्षयकोष स्थापनाका लागि ललितपुर महानगरपालिकाले रु एक करोड, वडा नं १६ ले रु १० लाख गराइसकेको र वडा नं. ११ ले यसै वर्ष रु नौ लाख उपलब्ध गराउने भएको छ ।
नाच सञ्चालनका लागि महानगरको उद्योग पर्यटन तथा संरक्षण समितिले रु ३० लाख, वडा नं. १६ ले रु ५० हजार, वडा नं. १९ ले रु ७५ हजार, एनसेन फाउन्डेसनले रु दुई लाख र सम्झना ल्यावोरोटोरीले रु ५० हजार उपलब्ध गराउने कलाकार सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए ।