मुम्बई :
बलिउड फिल्म सेटमा कलाकारबीच ‘खाना हाइरार्की’ हुने गरेको खुलासा वरिष्ठ अभिनेता गोविन्द नामदेवले गरेका छन्। हालैको एक अन्तरवार्तामा उनले सेटमा स्टार कलाकारलाई विशेष परिकार र अन्य कलाकार तथा प्राविधिकलाई साधारण खाना दिने चलन रहेको दाबी गरे।
नामदेवका अनुसार, कतिपय फिल्म सेटमा मुख्य कलाकारका लागि अलग मेनु र व्यवस्थापन हुने गरेको छ, जसले विभेदको अनुभूति गराउँछ। उनले यस्तो अभ्यासले टिमवर्कमा असर पर्ने पनि बताएका छन्।
द टाइम्स् अफ इण्डियाका अनुसार उनले अभिनेता अक्षय कुमार को भने खुलेर प्रशंसा गरे। नामदेवका अनुसार अक्षयले आफ्नो फिल्म सेटमा सबै कलाकार र प्राविधिकलाई समान व्यवहार गर्दै एउटै प्रकारको खाना उपलब्ध गराउने परम्परा सुरु गरेका थिए। “सेटमा सबै समान हुन्छन् भन्ने सन्देश अक्षयले व्यवहारमै देखाएका छन्,” उनले भने।
नामदेवको यो अभिव्यक्तिपछि बलिउडमा पुनः कार्यसंस्कृति र स्टार सिस्टमबारे बहस सुरु भएको छ।