सुचना, समाचार र मनोरन्जन

परराष्ट्र मन्त्री साउदले गरे ’दृष्यमा खप्तड–२’ सार्वजनिक

काठमाडौं :

नेपालका पश्चिम जिल्लामा केहि वर्ष यता फिल्म तथा गीतको भिडियो छायांकन हुदै आएका छन्। विभिन्न मन्त्री तथा विभिन्न सर्जकहरुले गीतको भिडियोहरु रिलिज पनि गर्दै आएका छन्। यस पटक भने खप्तडमा छायांकन गरिएका तीन गीतको भिडियो सार्वजनिक भएको छ।

मंगलबार परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। प्रमुख अतिथि बनेर कार्यक्रममा पुगेका मन्त्री साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे।

‘दृष्यमा खप्तड, शृंखला – २’ मा तीनटा गीतको म्युजिक भिडियो छन् । शिव परियार र नीता आचार्यको स्वरमा रहेको ’जिन्दगी त सँगै जिउने हो’ सीडी विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’, यसैगरी सीडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ सार्वजनिक भएका छन्।

‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र संगीत नै दीपक शर्माको रहेको छ। यसैगरी ‘गरिदेऊ बिदा’मा शब्द सागर बास्तोलाको रहेको छ भने संगीत ऋषी खड्काले गरेका छन्। अर्को गीत ‘मन्द मन्द’मा शब्द पद्म लिखामगरको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ।
तीनवटै गीतमा पुरुष मोडलका रुपमा अभिनय सनम कठायतले गरेका छन् । यसैगरी महिला मोडलका रुपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् भने सिनेमाटोग्राफी दीपक गिरी एन्ड टिमको रहेको छ। भिडियोको सम्पादन भने विकास दाहाल र अमृत चापागाईंले गरेका हुन्।

सुदूरपश्चिमको अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः यसैगरी देखाउँदै जानेगरी ’दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा गरिएको छ। डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गरिने उक्त अभियानको नेतृत्व गरिरहेका मोडल सनम कठायतले बताए। कार्यक्रममा कठायतले, ’हामीले दृष्यमा खप्तड ’पाइल प्रोजेक्ट’का रुपमा अघि सारेका थियौं । सफल भएको छ। अब यसलाई दृष्यमा सुदूरपश्चिम अभियानका रुपमा अघि बढाउनेछौं।’

अभियानको अग्रभागमा रहेको एभरेस्ट ग्यालरी टिममा कठायत र डिबी खड्काका साथै निर्देशक जनक सिंह र सिनेमाटोग्राफर दीपक गिरी रहेका छन्।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री तथा संघीय सांसद प्रेम आले, सुदूरपश्चिम प्रदेश सदस्य शिवसिंह ओली, पूर्व संविधानसभा अध्यक्ष भरत खड्का, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाही, उद्योग वाणिज्य महासंघ कैलालीका उपाध्यक्ष पुष्कर ओझालगायतले उक्त अभियानलाई शुभकामना दिँदै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.