सुचना, समाचार र मनोरन्जन

खुलामञ्च सबैका लागि खुला गर्ने तयारी

काठमाडौँ महानगरपालिकाले खुलामञ्च सबैका लागि सधैँका लागि खुला गर्ने तयारी गरेको छ ।

भूकम्पपछि वीर अस्पताल, दरबार हाईस्कूल जस्ता संरचना पुनर्निर्माणका सामग्री राख्ने, काठमाण्डौ टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुलामञ्चलाई पुनर्निर्माण तथा सजावटको काम गरेर खुला गर्न तयार पारिरहेको हो ।

खुलामञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत–सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुलामञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि झन्डै ९० लाख रुपियाँ खर्च भएको छ ।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ । पैदल मार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन् । यी बत्तीहरू रातमा बल्छन् र दिनमा आफैँ निभ्छन् । खुलामञ्च २३ हजार ४ सय १५ वर्गमिटर क्षेत्रमा फैलिएको छ ।

पूर्वाधार निर्माण र सजावटका सबै काम सकेपछि खुलामञ्च सबैका लागि खुला गरिने योजना रहेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.